तराई मधेसका सहरी क्षेत्रमा छाडा पशुचौपायाका कारण सर्वसाधारण हैरान

  डेटूडे खबर डेस्क
  ०४ फाल्गुण २०८०

                            

महाेत्तरी । महोत्तरीसहित तराई मधेसका सबैजसो जिल्लाका सहरी क्षेत्रमा छाडा पशुचौपायाका कारण समस्या बढिरहेको छ । बिहान बेलुकाको घुमफिर होस् वा कामका लागि बजार जाँदा छाडा पशुचौपायाका कारण हैरान हुने गरेको सर्वसाधरण बताउँछन् ।

बजारतिर निस्केपछि छाडा पशुलाई छिचोलेर निस्कन हम्मेहम्मे पर्ने महोत्तरीको जलेश्वर नगरपालिका–२ मा होटल व्यवसाय गर्ने कमला कोइरालाले बताए। घरपालुवा गाई, सुँगुर, बाख्रापाठा र घोडासहितका पशुचौपाया नगर क्षेत्रका चोक, बजार क्षेत्रमा छाडा छोड्दा समस्या भएको हो । सडकको माझमै बसेर गाईले बाटो छेकेका हुन्छन् । सडक पेटी वरपर पाठापाठीसँगै सुँगुरहरू हुन्छन् ।

बजारमा हिँड्दा हिँड्दै गाई वा साँढेले पुच्छर चलाएर मलमूत्र छर्किँदा फोहोर बनाउनेसँगै सिङ चलाउँदा कतिपय घाइतेसमेत हुने गरेका जलेश्वर–४ की शिवानी रायले बताइन् ।

प्रत्येक दिनजसो बिहान मिरमिरे उज्यालो हुनासाथ पशुधनीले आफ्ना वस्तु फुकाएर बजार वा चोकतिर लघार्ने काम चलनजस्तै बनेको छ । छाडा पशुले बजार क्षेत्रमा फोहर बढाउनुका साथै ट्राफिक समस्या पनि बढाएका छन् ।

पालिकाको चुनाव हुँदा उम्मेदवारहरूले सहरी क्षेत्रमा छाडा पशुचौपाया नियन्त्रण गर्ने बताएका भए पनि अझै कार्यान्वयन भएको छैन । पालिकाका जनप्रतिनिधिले छाडा पशुचौपायाको व्यवस्थापनतर्फ काम नगरेको स्थानीयवासीको गुनासो छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट