राम्रो कर्म गरे, राम्रै फल पाइन्छ : मुख्यसचिव गड्तौला

  डेटूडे खबर डेस्क
  १० श्रावण २०८१

                            

काठमाडौँ । नेपाल सरकारकी मुख्य सचिव लीलादेवी गड्तौलाले राम्रो कर्म गरे, राम्रै फल प्राप्त हुने बताएकी छन्। नवनियुक्त मुख्यसचिव गड्तौलाले निजामती सेवामा राम्रै कर्म गरेकाले उक्त जिम्मेवारी प्राप्त भएको बताइन्।

उनले भनिन्, ‘प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्ले मलाई कामु मुख्यसचिवको जिम्मेवारी दियो। दश दिनपछि आज मुख्यसचिवको जिम्मेवारी दियो। यो सरकार महिलाप्रति उदार देखियो, वर्तमान सरकारप्रति धन्यवाद।’

इमान्दार भएर काम गरेमा कहीँ न कहीँ मूल्याङ्कन हुने र अवसर मिल्ने सन्देश समस्त निजामती कर्मचारीमा गएको बताइन्। उनले महिलालाई माथिल्लो तहको जिम्मेवारीमा दिन हिचकिचाउँछन् भन्ने भाष्य परिवर्तन हुँदै गएको धारणा व्यक्त गरिन्।

कर्मचारीमा मुख्यसचिव बन्ने लक्ष्य हुने बताउँदै उनले भनिन्, ‘त्यसमा केही पुगिन्छ, कोही पुगिन्न। भाग्य छ भन्दैमा डोकोमा दूध अडिन्न, कर्म गर्नुपर्छ, राम्रो कर्म गरे राम्रो फल पाइन्छ।’

जनतालाई प्रदान गरिने सेवाप्रवाहमा सहज र सरल तुल्याउन सबै कर्मचारी मिलेर काम गर्नुपर्नेमा जोड दिइन्। मुख्यसचिव गड्तौलाले संसद्‌मा अड्किरहेको निजामती विधेयकलाई अघि बढाउन र राम्रो कर्म गर्ने कार्यलाई प्रोत्साहन र प्रेरणा प्रदान गर्न लागिपर्ने दृढता व्यक्त गरिन्।

नेपालको प्रशासनिक इतिहासमा उनी प्रथम महिला मुख्यसचिव हुन्।

केपी ओली नेतृत्वको सरकारले उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो। विसं २०५२ मा न्याय समूहको शाखा अधिकृतबाट सेवा शुरु गरेकी उनी २०६३ मा उपसचिव, विसं २०७० मा सहसचिव, २०७७ मा सचिवमा बढुवा भएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट