उखु र दूध किसानको बक्यौता तिर्न दुई अर्ब रुपैयाँ निकासा

  डेटूडे खबर डेस्क
  ११ असोज २०८१

                            

  काठमाडाैँ ।  सरकारले दुग्ध तथा उखु किसानलाई बाँकी बक्यौता उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको पहलमा दुग्ध तथा उखु किसानका लागि झण्डै दुई अर्ब रुपैयाँ निकासा भएको हो । दुग्ध किसानहरूको बक्यौता रकम तिर्न शुक्रबार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको छ ।

यस्तै, आठ जिल्लाका उखु किसानले पाउनु पर्ने १ अर्ब ४५ करोड बढी रकम कृषि मन्त्रालयले रकमान्तर गरी भुक्तानीका लागि जिल्लामा पठाएको छ । त्यसका लागि महालेखा नियन्त्रक कार्यालयकाे अनुमति र अर्थ मन्त्रालयले रकम बाँडफाँट गरी शुक्रबार नै सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पठाएकाे छ । 

कञ्चनपुर, नवलपरासी पश्चिम, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा र सुनसरीका उखु किसानले पाउनुपर्ने रकमका लागि एक अर्ब ४५ करोड ३२ लाख २१ हजार ८ सय ६८ रुपैयाँ सम्बन्धित जिल्लालाई पठाइएको हो । सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई रकम बाँडफाँटको स्वीकृति दिइएको छ । योसँगै उखु किसानले अनुदानबापत पाउनुपर्ने रकम दसैँअघि नै पाउने भएका छन् ।

मन्त्री अधिकारीले उखु तथा दूध किसानहरूको बाँकी रकम दसैँअघि नै भुक्तानी गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए । दूध र उखु किसानले पाउनु पर्ने बक्यौता रकम दसैँअघि नै पाउने व्यवस्था सरकारले मिलाएको बताउँदै मन्त्री अधिकारीले भने, ‘दूध र उखु किसानको दसैँ घर-घरमा आउने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट