नेपाल–बंगलादेश व्यापारमा भारतको ६ महिने ‘अल्टिमेटम’

  न्यूज डेस्क
  ३० जेठ २०८०

                            

झापा — सन्धिविपरीत ‘ओभरलोड’ सामान ढुवानी गरेको आरोपमा केही दिनअघि बंगलादेशसँगको नेपाल व्यापार रोक्ने चेतावनी दिने भारतीय भन्सार प्रशासन उक्त निर्णय कार्यान्वयनबाट तत्कालका लागि पछि हटेको छ । नेपाल–बंगलादेशबीचको व्यापार नै अवरुद्ध पार्ने भारतीय भन्सारको चेतावनीको समाचार बाहिरिएपछि भन्सार अधिकारीहरू उक्त निर्णय तत्काल कार्यान्वयन नगर्ने निष्कर्षमा पुगेका हुन् । भारतको फूलबारी ल्यान्ड कस्टमले आइतबारदेखि नेपाल र बंगलादेशबीचको सम्पूर्ण व्यापार ठप्प पार्ने चेतावनी दिँदै आएको थियो ।

तर, कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको पहलमा शनिबार फूलबारी नाकामा नेपाल–भारतका भन्सार अधिकारी, सुरक्षा निकाय र व्यवसायीबीचको छलफलपछि भारतले सन्धि पुनरावलोकनका लागि ६ महिनाको ‘अल्टिमेटम’ दिएको छ । ‘६ महिनापछि पनि सन्धि पुनरावलोकन नभए व्यापार रोक्न बाध्य हुनेछौं,’ भारतीय भन्सार अधिकारीहरूको भनाइ छ । छलफलका क्रममा महावाणिज्यदूत ईश्वरराज पौडेलले ‘लोड रेस्ट्रिक्सन’ को बहानामा भारतले नेपाल र बंगलादेशबीचको व्यापार रोक्न नमिल्ने तर्क गरेका थिए । ‘ओभर लोडको बहानामा बंगलादेशसँगको हाम्रो व्यापार कुनै पनि हिसाबले नरोक्नुस्,’ उनले छलफलमा भने, ‘नेपाल र भारतबीचको सम्बन्ध १६ टन र १९ टनको मात्रै होइन, विशाल र सनातन सम्बन्ध हो ।’

महावाणिज्यदूतले कूटनीतिक ढंगबाट प्रस्ट कुरा राखेपछि भारतीय भन्सार अधिकारीहरू सकारात्मक बनेका थिए । फूलबारी ल्यान्ड कस्टमकी एसिस्टेन्ट कमिश्नार (एसी) निमा ल्हामु शेर्पाले बंगलादेशसँगको व्यापारका लागि भएको त्रिदेशीय सन्धिको अतिरिक्त ट्रान्जिट रुटका लागि बनाइएको मोडालिटीको चौथो बुँदालाई तत्काल पुनरावलोकन गरी दीर्घकालीन समाधान खोज्न नेपाली पक्षलाई अनुरोध गरिन् । ‘हामीले त कति वर्षअघि के लेखिएको थियो, त्यो हेर्दैनौं,’ उनले भनिन्, ‘सन्धिमा के लेखिएको छ र त्यो कार्यान्वयन भइरहेको छ कि छैन भन्ने कुरालाई मात्रै ध्यान दिन्छौं ।’ त्रिदेशीय व्यापार मोडालिटीको चौथो बुँदामा काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध मार्ग हुँदै चल्ने नेपाली ट्रक वा कन्टेनरको न्यूनतम १६ र अधिकतम १९ टन मात्रै ढुवानी गर्न मिल्ने उल्लेख छ ।

फूलबारी कस्टमले बंगलादेशसँगको व्यापार रोक्ने चेतावनीपछि महावाणिज्यदूत पौडेलले पश्चिम बंगाल राज्यका ल्यान्ड कस्टम कमिश्नार रञ्जन खन्नासँग पटक–पटक संवाद गरेका थिए । खन्नाले नै फूलबारी कस्टमका अधिकारी, सीमा सुरक्षा बल (बीएसएफ) लगायतसँग संवादको चाँजो मिलाएको पौडेलले जनाए । ‘कमिश्नार खन्नाको पहलमा आगामी ६ महिनासम्म व्यापार नरोक्ने सहमति भयो,’ उनले भने, ‘यो समयमा नेपालले सन्धिको चौथो बुँदालाई पुनरावलोकन गर्न पहल गर्नुपर्‍यो ।’ २०५४ भदौ १४ मा भारत र बंगलादेशसहितको त्रिपक्षीय व्यापार तथा ट्रान्जिट सम्झौता (सन्धि) भएको थियो । सम्झौतापछि भारतले बंगलादेशसँगको सोझो व्यापारका लागि ‘काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध’ सम्मको करिब ३४ किलोमिटर व्यापारिक मार्ग उपलब्ध गराउने जनाइएको छ ।

विगतमा यो मार्ग जीर्ण र सानो थियो । त्यो पनि वर्षामा हिलाम्ये हुन्थ्यो । धेरै दुःख बेहोरेर नेपाली व्यवसायीहरूले बंगलादेशसँगको व्यापारिक जग बसाएका थिए । अहिले यो बाटो एसियन हाइवेसँग जोडिएर भव्य बनेको छ । ‘पहिलोको भौतिक पूर्वाधार र अहिलेको भौतिक पूर्वाधारबीच आकाश–जमिनको फरक छ,’ महावाणिज्यदूत पौडेलले थपे, ‘जुन बेला सम्झौता भएको थियो, त्यो त्यही समय अनुकूल थियो । अहिले २५ वर्षअघिको सम्झौताका आधारमा भारतले बखेडा गर्न सुहाउँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट