तराईमा चलिरहेको शीतलहर र बाक्लो हुस्सु अझै केही दिन नहट्ने

  डेटूडे खबर डेस्क
  १० माघ २०८०

                            

जनकपुरधाम । तराईमा चलिरहेको शीतलहर र बाक्लो हुस्सु अझै केही दिन नहट्ने भएको छ । तराईका कुनै–कुनै ठाउँमा बेलुकासम्म नै बाक्लो हुस्सुले ढाकिरहेको छ भने शीतलहर पनि चलेको छ ।

तीव्र गतिको हावा नचलेको र पानी नपरेकोले राति लागेको हुस्सु दिनभरि पनि नहटेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए।

बाक्लो हुस्सुले तराई क्षेत्रका सबैजसो विमानस्थलमा हवाई उडान प्रभावित भएको छ । धेरैजसो उडान ढिलाइ भएका छन्, केही रद्द भएका छन् । सडकमा गाडीहरू दिउँसै बत्ती बालेर गुडिरहेका छन् ।

यसैबीच अहिले कोशी, बाग्मती र गण्डकी प्रदेशमा मौसम बदली भएको छ । ताप्लेजुङ, गोरखा, मनाङलगायत जिल्लाका केही ठाउँमा हल्का पानी परेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ ।

नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले केही दिन, केही ठाउँमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको मौसमविद् पुडासैनीले जानकारी दिए । तर देशैभर जमिन भिज्ने गरी एकैपटक पानी पर्ने सम्भावना भने कम रहेको छ । चर्को खडेरीले बालीनालीमा ठूलो असर परेको छ, केही ठाउँमा पानीको हाहाकार हुनुका साथै प्रदूषण पनि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट