विद्यार्थी बोक्ने गाडीको गति प्रतिघण्टा ४० किमि, उल्लंघन गरे यस्तो छ कारबाही
डेटूडे खबर डेस्क
१७ वैशाख २०८१
काठमाडौँ । सरकारले विद्यार्थी बोक्ने गाडी प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी गतिमा चलाउन नपाउने गरि निर्धारण गर्ने भएको छ। गृह मन्त्रालयले गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरिसकेको छ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तीव्र गतिका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने भन्दै भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गरी मातहतका निकायलाई आवश्यक निर्देशन दिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ।
आइतवार पठाइएको पत्रमा भनिएको छ, ‘मुलुकभर सञ्चालित सरकारी एवं निजी विद्यालयहरूमा अध्ययनरत बालबालिका बोक्ने सवारीसाधनहरूको दुर्घटना न्यूनीकरण गर्न सो सवारीसाधनहरूको गति निर्धारण गर्न आवश्यक देखिएकाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ११५ अनुसार यातायात व्यवस्था विभागलाई उक्त जिम्मेवारी तोकिएको हुँदा उक्त सवारीसाधनहरूको गति निर्धारण नगरिएको भए प्रतिघण्टा ४० किलोमिटरभन्दा तल हुने गरी गति निर्धारण गर्ने व्यवस्था मिलाउन तथा गति निर्धारण भएको भए निर्धारितभन्दा बढी गतिमा सवारी चलाउने सवारीसाधनहरूलाई ऐनको दफा १६४ बमोजिम जरिवाना गर्ने कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न, गराउन त्यहाँ मन्त्रालयबाट आवश्यक निर्देशन तथा समन्वय हुन आदेशानुसार अनुरोध छ।’
गृह मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौँ उपत्यका ट्राफिक कार्यालय र ७७ वटा जिल्ला प्रशासन कार्यालयलाई समेत बोधार्थ तथा कार्यार्थका लागि पत्राचार गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
यस्तो छ निर्देशिकामा
विद्यार्थीहरूको आवतजावत सुरक्षित,आरामदायी र भरपर्दो बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा ‘स्कुल बस निर्देशिका २०७४’ जारी गरिएको छ।
उक्त निर्देशिकाको बुँदा ७ को बसको गति सीमित हुनुपर्नेमा भनिएको छ, ‘स्कूल बस कुनै पनि किसिमले अधिकतम ४० कि.मि. (चालिस किलोमिटर) प्रतिघण्टा भन्दा बढी गतिमा चलाउन पाइने छैन।’ तर स्कुल बस तीव्र गतिमा हुँइकिने गरेको छन्। विद्यार्थी बोकेर त्यसरी तीव्र गतिमा कुदाउने गाडीलाई कारबाही भने गरिँदैन।
यस्तै निर्देशिकामा स्कुल बस चलेको अवस्थामा सबै आपतकालीन ढोका बन्द गरी विद्यार्थीको यात्रा सुरक्षित बनाउनुपर्ने व्यवस्था छ। स्कुल बसको झ्यालमा ३ वटा होरिजेन्टल राउण्ड मेटल राउण्ड आल्मुनियम ट्युबको ग्रिल दुवै साइडमा लगाउनुपर्ने र सहचालकको व्यवस्था हुनुपर्ने पनि निर्देशिकामा उल्लेख छ। तर उक्त निर्देशिकामा तोकिएको मापदण्ड निजी विद्यालयले पूरा गर्दैनन्। जसकारण यसअघि कैयौँ दुर्घटनासमेत भइसकेका छन्।
२०७९ कात्तिकमा लाजिम्पाटस्थित बेष्ट एलिमेन्ट्री मन्टेसरी स्कुलमा अध्ययनरत सामाखुसीका १३ वर्षीय आयुष्मान दाहालले आफू चढेको बा १ क ४६४२ नम्बरको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटनजिकको रूखमा ठोकिन पुगेको थियो।
उनको टाउकोमा गम्भीर चोट लागेपछि तत्कालै उनलाई उपचारका लागि सो स्कुलका व्यवस्थापकले त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगे पनि उपचार क्रममा उनको निधन भएको थियो। प्रहरी वृत्त दरबारमार्गले अनुसन्धानबाट चालक र सहचालकले झ्यालको सिसा नलगाउनु ठूलो गल्ती देखिएको निष्कर्ष निकालेको थियो।
निर्देशिकाको बुँदा ९ मा धुम्रपान तथा मद्यपान गर्न नपाइने व्यवस्था पनि छ तर यो निर्देशिकाको खिल्ली उडाउँदै चालकले मापसे गरेर विद्यालयका बस चलाउने गरेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयले बेला बेला मापसे गरेर चलाएका विभिन्न स्कुल बसलाई समात्ने गरेको छ।
‘कारबाही नहुँदा निर्देशिका लत्याएर गाडी चलाइयो’
नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले व्यवस्थित ढंगले स्कुल बस चलाउनको निम्ति निर्देशिका, ऐन बने पनि त्यसलाई लत्याएर स्कुलका चालकहरुले बस चलाउने गरेको बताए।
यसो गरे पनि ट्राफिक प्रहरी होस् या अन्य सम्बन्धित निकायले होस् बेवास्ता गर्ने गरेको उनी बताउँछन्। उनका अनुसार स्कुल बसभित्र झनै दर्दनाक पीडा दिएर विद्यार्थी ओसारपसार गरिन्छन्।
‘बिहान हेर्याे भने मन्टेसरीका गाडीमा उल्टो सिट बनाएर विद्यार्थी राखेर चलाउँछन्, नियमअनुसार यसो गर्न पाइँदैन,’ उनले भने, ‘विद्यार्थीहरूलाई बसमा खाँदेर लगेको छ तर ट्राफिक प्रहरी होस् या अरू सम्बन्धित निकाय कसैलाई वास्ता छैन।’
उनका अनुसार बालबालिका संवेदनशील हुन्छन्‚ वयस्कजस्त हुँदैनन्। चन्चले स्वभावका हुन्छन्। ‘त्यसैले महत्व दिएर सीमित गतिमा चलाउने, बालबालिकाहरूको स्कुलभित्र होस् या बाहिर होस् रेखदेख गरिनुपर्छ। यसका लागि मान्छे राख्नुपर्छ, सुरक्षामा कमी हुनुभएन, चालकलाई पनि चेतना दिनुपर्छ,’ उनले भने।
यस्तो छ सजायसम्बन्धी व्यवस्था
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ (संशोधित २०७६) को दफा १६४ मा यातायात निरीक्षक वा प्रहरीले तत्काल सजाय गर्न सक्ने तोकिएको छ।
जसमा ट्राफिक सङ्केत वा इशारा उल्लङ्घन गरी सवारी चलाए, सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याए, निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाए वा अन्य गल्ती गरे पहिलो पटक गर्नेलाई ५ सय रूपैयाँ जरिवाना तोकिएको छ।
दोस्रो पटक गर्नेलाई १ हजार रूपैयाँ र तेस्रो पटक वा सोभन्दा बढी पटक गर्नेलाई १ हजार ५ सय रूपैयाँको जरिवाना तोकिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता जीवनकुमार श्रेष्ठले उक्त पत्र अझै आइनपुगेको र आइपुगेपछि कार्यान्वयनमा लैजाने जानकारी दिए। ‘अब पत्र विस्तारै आइपुग्ला, कार्यान्वयनको पाटो त छँदै छ,’ उनले भने।