तीव्र गतिका कारण अधिकांश सवारी दुर्घटना
डेटूडे खबर डेस्क
०६ असोज २०८१
जनकपुरधाम । तीव्र गतिका कारण अधिकांश सवारी दुर्घटना हुने गरेको एक तथ्याङ्कले देखाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरेको प्रतिवेदनमा अधिकांश सवारी दुर्घटना तीव्र गतिका कारण हुने गरेको उल्लेख छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा धनुषाभरिमा १५ सय सवारी दुर्घटना भएकोमा ६० प्रतिशत दुर्घटना तीव्र गतिका कारण भएको पाइएको छ । त्यसैगरी, १४ प्रतिशत सवारी दुर्घटना चालकको लापर्वाही, बाँकी दुर्घटना विविध कारणले हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिघण्टा ३० किलोमिटरको गतिमा हिँडिरहेको सवारीसाधनसँग पैदलयात्री ठोकियो भने उक्त घटनामा मृत्यु हुने सम्भावना १ प्रतिशत मात्र रहेको निरीक्षक वलीले बताए । त्यसैगरी, प्रतिघण्टा ६० किलोमिटरको गतिमा हिँडने सवारीले ठोकिएमा मृत्यु हुने सम्भावना ५० प्रतिशत र प्रतिघण्टा ७० किलोमिटरभन्दा माथिको गतिमा गुडिरहेको सवारीमा ठोकिँदा मृत्युको सम्भावना ९९ प्रतिशत रहेको उनले बताए ।
गत आर्थिक वर्षमा १ हजार ५ सयसवारी दुर्घटना हुँदा ७४ जनको मृत्यु भएको थियो भने चालु आर्थिक वर्षको २ महिनामा सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको उनले बताए । गत आर्थिक वर्षको यही अवधिमा १४ जनाको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ । अर्थात् गत वर्षभन्दा चालु आवको सोही अवधिमा सवारी दुर्घटनामा ६४ प्रतिशतले कमी आएको छ ।
सवारी दुर्घटना न्यूनीकरण गर्न आफूहरूले ट्राफिकसम्बन्धी जनचेतनामूलक कार्यक्रम, विभिन्न ठाउँमा ट्राफिक नियमसम्बन्धी सांकेतिक बोर्डहरू तथा जाँच कडाइ रहेको उनले बताए । चालु आवको २ महिनामा ५ हजार २४५ वटा सवारीलाई ट्राफिक कारबाही गरी ४० लाख ९२ हजार जरिवाना संकलन भएको उनले बताए । सवारी दुर्घटना न्यूनीकरण ट्राफिक प्रहरी एक्लैले चाहेर मात्र नभई चारैतिरबाट पहल हुनुपर्ने उनले बताए ।