साइबर अपराध बढ्दाे, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा ढिलाइ : आईजीपी कार्की
डेटूडे खबर डेस्क
१० वैशाख २०८३
काठमाण्डाैँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपालमा साइबर अपराध तीव्र गतिमा बढिरहेको बताएका छन् ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा आईजीपी कार्कीले इन्टरनेट र मोबाइलको बढ्दो प्रयोगसँगै यस्ता घटना वृद्धि भएको जानकारी दिए ।
विशेषगरी महिला र युवा धेरै प्रभावित भएका छन् । अहिलेसम्मको तथ्याङ्क अनुसार फेक एकाउन्टबाट घृणा फैलाउने ४ हजारभन्दा धेरै निवेदन, बुलिङ र उत्पीडनका ३ हजारभन्दा धेरै घटना र वित्तीय अपराधका १० हजारभन्दा धेरै उजुरी प्रहरीमा दर्ता भएका छन् ।
आईजीपी कार्कीका अनुसार सामाजिक सञ्जाल प्लेटफर्म विदेशी कम्पनीद्वारा सञ्चालित भएकाले अनुसन्धानका लागि आवश्यक विवरण पाउन ठूलो चुनौती छ । फेसबुक, इन्स्टाग्राम लगायत मेटाका प्लेटफर्म नेपालमा दर्ता नभएकाले प्रयोगकर्ता विवरण आउन २०–२५ दिन लाग्ने र अनुसन्धानमा ढिलाे हुँदा पीडितले न्याय नपाउने अवस्था सिर्जना भएको उनले बताए ।
अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र कपोकोलाइभ मात्र नेपालमा आधिकारिक रूपमा दर्ता भएका छन् । कार्कीले साइबर अपराध नियन्त्रणका लागि स्पष्ट कानूनी व्यवस्था गर्न र डिजिटल प्लेटफर्महरूलाई नेपालमा दर्ता गराउन माग समेत गरेका छन् ।
