महाकुम्भ जान नयाँदिल्ली रेल्वेस्टेशनमा भागदौड, पाँच बालबालिकासहित १८ जनाको मृत्यु

डेटूडे खबर डेस्क
०५ फाल्गुण २०८१
एजेन्सी ।
भारतको राजधानी नयाँदिल्ली स्थित रेलवे स्टेशनमा भागदौड हुँदा पाँच बालबालिका सहित १८ जनाको मृत्यु भएको छ । गएराति साढे ९ बजेतिर भागदौड मच्चिएको थियो । मृत्यु हुनेमा ९ जना महिला, पाँचजना बच्चा र तीनजना पुरुष रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
भारतको उत्तरप्रदेशमा लागेको महाकुम्भ मेला हेर्न जानेक्रममा रेलवे स्टेसनमा मानिसहरुको ठूलो भीडमा सो घटना भएको हो।
रेल मन्त्रालयका प्रवक्ता दिलिप कुमारका अनुसार राति प्रयागराज एक्सप्रेस र मगध एक्सप्रेस रेलका थुप्रै प्यासेन्जरहरु स्टेसनमा आएका थिए । सबैलाई यो नै आजको अन्तिम रेल हो भन्ने लाग्यो अनि सबैजना रेल चढ्न तछाडमछाड गर्न थाले । त्यसपछि भागदौड मच्चिँदा मानिसहरु किल्चिएर मृत्यु भएका छन् । मृत्यु हुनेमा सबभन्दा बढी बिहारका ९ जना छन्, त्यस्तै दिल्लीका ८ र एकजना हरियाणाका रहेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र रेलमन्त्री अश्विनी वैष्णवले भागदौडमा ज्यान जानेहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुप्रति स्वास्थ्यलाभको कामना गरेका छन् ।