कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’

  डेटूडे खबर डेस्क
  ०४ श्रावण २०८३

                            

विराटनगर : भारतको कोलकाताबाट कच्चा पदार्थ बोकेको ‘कार्गो रेल’ आज एकीकृत जाँच चौकी विराटनगर आइपुगेको छ।
 
खानेतेल उत्पादनका लागि आवश्यक औद्योगिक कच्चापदार्थ लिएर यही साउन १ गते हिँडेको ४० कन्टेनरसहितको सो कार्गो रेल आज यहाँ आइपुगेको हो।

स्वास्तिक आयलको औद्योगिक कच्चापदार्थ लिई आएको रेललाई विराटनगर भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठ, व्यापारी, उद्यमी एवं सर्वसाधारणले स्वागत गरेका थिए।

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई जोगबनीस्थित भारतीय भन्सार ‘यार्ड’ हुँदै विराटनगर–१८ बुधनगर भेडियारीस्थित नेपाल भन्सार ‘यार्ड’ सम्म ल्याउने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको छ।  

यसअघि कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल, कोलकाता भन्सार, कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेड अधिकारीहरूले संयुक्त रूपमा उक्त कार्गो रेललाई बिदाइ गर्नुभएको विराटनगर भन्सार कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट