बुस्टर खोपमा पहिले लगाएको भन्दा फरक खोप दिने सरकारको निर्णय, सर्वसाधारण अन्यौलमा
डेटूडे खबर डेस्क
१५ माघ २०७८
जनकपुरधाम । सरकारले बुस्टर खोपको मात्रा पहिले लगाएको खोप भन्दा फरक खोप दिने निर्णय गरेको छ । डब्लूएचओको सल्लाहकार समूह र राष्ट्रिय खोप सल्लाह समितिको सिफारिस अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय अनुसार बुस्टर खोपको मात्रा फरक खोपको दिने निर्णय गरिएको हो ।
बुस्टर मात्राको हकमा ६० वर्षभन्दा माथिका व्यक्तिलाई कोभिड-१९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाहरूलाई कोभिसिल्ड वा एस्ट्राजेनिका दिन ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको छ ।
पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्रा सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनिका खोप दिन भनिएको छ । त्यस्तै, विदेशमा पहिलो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल, मोडर्ना र फाइजर खोप लगाएकाहरूलाई दोस्रो मात्राको रूपमा कोभिसिल्ड वा एस्ट्राजेनिका खोप प्रदान गर्ने निर्णय गरिएको हो ।
सरकारको यो निर्णयले जेष्ठ नागरिक अन्यौलमा परेका छन् । पहिलो र दोश्रो डोज भेरोसेल अभावका कारण सरकारले मौज्दात रहेको कोभिसिल्ड दिन लागेको भन्दै अन्यौलमा परेका हुन् ।