कमला नदी जोगाउन जनसहभागिता आवश्यक: उप-प्रमुख यादव
डेटूडे खबर डेस्क
१५ माघ २०७८
जनकपुरधाम । “कमला नदी बचाउँमा आर–पार सहज कनेक्टिविटी विषयको विचार गोष्ठी“ कमला नदी बचाउ अभियान एवं नेपाल भारत खुल्ला संवाद समूहको संयुक्त आयोजनामा सम्पन्न भएको छ ।
शनिबार जिल्ला समन्वय समिति धनुषाको सभाकक्षमा गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रममा गणेशमान चारनाथ नगरपालिकाका उप–प्रमुख मिना कुमारी यादवका अनुसार कमला नदी अभियानका कार्यक्रमहरु जिल्लाको सदरमुकाम वा अन्य ठाउँमा आयोजना गर्नाले कमला नदी बचाउ अभियान कार्यक्रम सफल नहुने बताइन् । कार्यक्रमलाई सफलता पूर्वक अगाडि बढाउन सम्बन्धित स्थानीय तहको सम्बन्धित वडामा कार्यक्रम आयोजना गर्नु पर्ने धारणा राखिन् । कमला नदी नियन्त्रणमा आफू तत्पर रहेको एवंम् समय समयमा अनुगमन गरिरहेको जानकारी दिइन् ।
अनुगमनको क्रममा आफूलाई पनि उत्खनन कार्यमा संलग्न ठकेदारहरुबाट धाक धम्की आएको उल्लेख गर्दै उनले यस प्रति अझै कडाइका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।
गोष्ठीमा सहभागी वक्ताहरुले कमला नदी तटमा वृह्त वृक्षारोपण कार्यक्रम गर्नुपर्ने र त्यसको संरक्षण सम्वद्धन एवं नदीलाई जोगाउनको लागि स्थानीय निकाय, प्रदेश सरकार, संघ, संस्था लगायत गाउँ टोलबाट स्थानीय समाजको जन सहभागिता समेत हुनुपर्ने धारणा राखेका थिए ।
कमला अभियानका संयोजक बिक्रम यादवको अध्यक्षता भएको कार्यक्रममा कमला सरोकारवाला निकाय कमला नदी निकाय कमला नदी नियन्त्रण आयोजना, जनकपुरधामका प्रमुख डि.ई. बिष्णुदेव यादव, पूर्व डि.ई.रत्नेश्वर लाल कर्ण, गणेशमान चारनाथ नगरपालिका उप-प्रमुख मिना यादव, नि.प्रमुख प्रशासकीय अधिकृत ई.लखनदेव यादव, संवाद समूहका अध्यक्ष राजिब झा, वन प्राविधिक समाज जनकपुरधामका अध्यक्ष राम स्वार्थ साह, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक बिक्रम शाह, पत्रकार सुजित झा, संजय साह, स्मृति मिश्र, माला राय, आरति मंडल, इन्द्रभूषण यादव, रेल्वे ट्रयाक अभियान संयोजक रुबि झा, दिवाकर झा, दुधमती अभियानी सुदिप मंडल, कमला अभियानी सचिब बिनोद महरा, श्रीप्रसाद यादव, शिवशंकर गोईत, रजनिस यादव, राम इश्वर यादव लगायतका वक्ताहरुले अवैध उत्खनन, वातावरणीय प्रभाव मूल्यांकन नहुँदै नदिजन्य पदार्थको दोहन, अवैध गिट्टीजन्य पदार्थ ओसार पसार, जथाभावी गरिएको उत्खननले नदीकटान, खेती योग्य जमिन माथिको जोखिम र क्षयीकरणको समस्या तथा बर्सेनि हुदै आएको बाढीले नदि तट्टबन्ध स्थानीय बासिन्दाहरु बाढी र कटानको कारण पीडित हुँदै आएको बताए ।