चुहावट नियन्त्रण गर्दा विद्युत् प्राधिकरणको नाफा १२ अर्ब १२ करोड
डेटूडे खबर डेस्क
०९ फाल्गुण २०७८
जनकपुरधाम । नेपाल विद्युत् प्राधिकरणले छ महिनाको अवधिमा १२ अर्ब बढी नाफा गरेको छ । अघिल्लो वर्ष तुलनामा दोब्बर नाफा हो । पुस मसान्तसम्ममा १२ अर्ब १२ करोड रुपियाँ नाफा आर्जन भएको प्राधिकरणले जनाएको छ ।
विद्युत् चुहावट नियन्त्रणमा सफलता मिलेको र ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न भएकाले नाफा आर्जनमा प्राधिकरणलाई सफलता मिलेको बताइएको छ ।
विद्युत् चुहावट नियन्त्रण, भारतर्फ निर्यातको परिमाण वृद्धि र आयातमा कमी, विद्युत् बिक्रीमा वृद्धि, खर्च कटौतीलगायतका कारण नाफा आर्जन गर्न सफल भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा भने थप तीन अर्ब रुपियाँ नाफा हुने प्राधिकरणको प्रक्षेपण छ । पछिल्लो छ महिनामा सुक्खायामका कारण उत्पादन कम हुने र भारतबाट विद्युत् आयात बढ्नेछ।
अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो छ महिनामा विद्युत् निर्यात बढेको छ । चालू आर्थिक वर्षको छ महिनामा दुई अर्ब ५८ करोड रुपियाँको मात्र विद्युत् आयात भएको छ ।
चालू आर्थिक वर्षको पुससम्ममा विद्युत् चुहावट १४.४५ प्रतिशतमा झरेको प्राधिकरणले जनाएको । प्राधिकरणको विदेशी दातृ निकायको दीर्घकालीन ऋण एक खर्ब १४ अर्ब रुपियाँ पुगेको छ ।
नेपाल सरकारसँगको दीर्घकालीन ऋण ८१ अर्ब ८१ करोड रहेको छ भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व ३६ अर्ब ८४ करोड रुपियाँ छ ।