पाँचौंपटक प्रधानमन्त्री भएपछि देउवाको पहिलो औपचारिक भ्रमण भारतमा

  डेटूडे खबर समाचारदाता
  ११ चैत्र २०७८

                            

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा दक्षिण छिमेकी भारतको तीनदिने औपचारिक भ्रमणमा निस्कने भएका छन् । पाँचौंपटक प्रधानमन्त्री भएपछि देउवाले पहिलो औपचारिक भ्रमण चैत १८ देखि २० सम्म भारतमा गर्ने भएका हुन् ।


भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा देउवाले भारत भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उत्तरी छिमेकी चीनबाट उच्चस्तरीय नेपाल भ्रमण भएको एक साताभित्रै देउवा भारत प्रस्थान गर्न लागेका हुन् । भारत भ्रमणको गृहकार्य बालुवाटार र परराष्ट्र मन्त्रालयले सुरु गरिसकेका छन् ।


देउवा र मोदीबीच गत पुस (२५–२८) मा गुजरातको गान्धीनगरमा हुने भनिएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा भेटवार्ता हुने कार्यक्रम थियो । तर कोभिड–१९ महामारी फैलिएका कारणले उक्त भ्रमण स्थगित भएको थियो । मोदीसँग सम्बन्ध सुधार गर्न चाहिरहेका देउवा स्थानीय चुनावको आचारसंहिता जारी हुनुअघि नै भारत पुगेर आउन लागेका हुन् । देउवा र मोदीबीच गत कात्तिकमा स्कटल्यान्डको ग्लास्गोमा भेटवार्ता भएको थियो । उक्त भेटवार्ताका दौरानमा दुवैले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउनेमा जोड दिएका थिए । तर नेपाल सरकारले तयार गरेको चुच्चे नक्सामा तत्कालीन प्रतिपक्ष कांग्रेसको सहयोगलगायत कारणले भारत देउवासँग असन्तुष्ट थियो । देउवा पाँचौं पटक प्रधानमन्त्री हुँदा संसद्बाट विश्वासको मत लिएपछि मात्र मोदीले बधाई दिएका थिए । अरू बेला नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ भारतीय समकक्षीबाट बधाई आउने गरेको थियो । भारतसँगको सम्बन्ध सुधार्न देउवाले ग्लास्गोलाई प्रयोग गरेका थिए । कोप–२६ का दौरान ग्लास्गोमा भएको भेटमै मोदीले देउवालाई भ्रमणको निम्तो दिएका थिए ।


देउवाले पछिल्लो पटक २०७४ भदौमा भारतको पाँचदिने राजकीय भ्रमण गरेका थिए । त्यसबेला कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार थियो । अहिले पनि देउवाको नेतृत्वमा माओवादी केन्द्रसहित अन्य दल सम्मिलित सरकार छ ।


नेपालले चुच्चे नक्सा ल्याएपछि नेपाल र भारतबीच उच्चस्तरमा द्विपक्षीय कूटनीतिक संवाद पातलिएको छ । त्यसयता सीमा विवाद, दार्चुलाको तुइन काण्ड र हेलिकोप्टर उडान घटनालगायतले नेपाल–भारत सम्बन्ध थप प्रभावित भएको थियो । दुई मुलुकबीच चिसिएको सम्बन्धमा सुधार ल्याउन पछिल्लो समय नेपालबाट मात्र होइन, भारतीय पक्षबाट पनि पहल भइरहेको छ । भारतका रक्षामन्त्री राजनाथ सिंह र पर्यटनमन्त्री जी किसन रेड्डीले केही महिनाअघि भारत र नेपालबीचको सम्बन्धमा कसैले फाटो ल्याउन नसक्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । रक्षामन्त्री सिंहले गत मंसिर २९ मा उत्तराखण्डमा एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल असल मित्र भएको उल्लेख गर्दै नेपालसामु आवश्यक परे झुक्ने तर सम्बन्ध बिग्रन नदिने बताएका थिए । यस्तै, पर्यटनमन्त्री रेड्डीले पुस ८ मा नयाँदिल्लीमा केही शक्ति नेपाल–भारत सम्बन्ध तोड्ने प्रयासमा रहे पनि त्यसमा सफल नहुने बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट