सुरक्षाकर्मी अपुग हुने भएपछि कारागार र विमानस्थलका प्रहरी पनि तानेर निर्वाचन सुरक्षामा खटाउने सरकारकोे निर्णय

  डेटूडे खबर समाचारदाता
  ११ चैत्र २०७८

                            

काठमाडौँ — सुरक्षाकर्मी अपुग हुने भएपछि सरकारले कारागार र विमानस्थलका प्रहरी पनि तानेर निर्वाचन सुरक्षामा खटाउने भएको छ । केन्द्रीय सुरक्षा समितिले निर्वाचन अवधिभर विमानस्थल र कारागार सुरक्षामा सेना खटाउने निर्णय गरेको हो ।


आगामी वैशाख ३० मा देशभर १० हजार ७ सय ५६ मतदान स्थल (बुथ) मा एकै चरणमा मतदान हुनेछ । करिब २३ हजार मतदान केन्द्र (मतपेटिका) व्यवस्थापन गर्न करिब १ लाख १० हजार कर्मचारी खटाउने आयोगको तयारी छ । सुरक्षा गस्ती गर्न करिब ७० हजार सैनिक खटिने छन् । मतदानस्थल तथा केन्द्रको बाहिरी सुरक्षामा ३२ हजार सशस्त्र प्रहरी र भित्री सुरक्षामा ६५ हजार प्रहरी खटाउने सरकारी तयारी छ ।


भित्री सुरक्षामा प्रहरीको सहयोगमा खटिने गरी १ लाख १८ हजार म्यादी प्रहरी भर्ना गर्न प्रहरी प्रधान कार्यालयले प्रस्ताव गरेको थियो । प्रहरीको प्रस्ताव गृह मन्त्रालयले अघि बढाए पनि अर्थले भने बजेट अभाव रहेको भन्दै एक लाख म्यादी मात्र भर्ना गर्न अनुमति दिएको छ । यसरी निर्वाचन सुरक्षामा जनशक्ति नपुग्ने भएपछि कारागार र विमानस्थलबाट पनि प्रहरी तान्न थालिएको हो ।


नेपाल प्रहरीले गरेको गृहकार्यअनुसार प्रतिम्यादी प्रहरी करिब ४५ हजार रुपैयाँ खर्च हुँदैछ । यसरी थप १८ हजार म्यादीका लागि ८१ करोड बजेट जोगाउन सरकारले विमानस्थल र जेलका प्रहरी झिक्न थालेको हो ।


गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय सुरक्षा समिति बैठकले सेना, प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीको भूमिका तोकेर ‘निर्वाचन केन्द्रित सुरक्षा कार्ययोजना’ पारित गरेको हो । बैठकले त्रिभुवन अन्तर्राष्ट्रियसहित सबै विमानस्थल र कारागार तथा महत्त्वपूर्ण प्रतिष्ठान÷संरचनाको सुरक्षामा सेनालाई खटाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट