विकास निर्माणको काममा स्थानीयलाई नै जिम्मेवारी दिनुपर्छ प्रधानमन्त्रीको भनाई
डेटूडे खबर समाचारदाता
१२ चैत्र २०७८
काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताउनु भएको छ ।
शनिवार ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीयहरुलाई नै विकास निर्माणको काम दिनुपर्ने बताउनु भएको हो । उहाँले विकास निर्माणको काम स्थानीय सरकारलाई दिएकोले प्रायजसो काम राम्रो र छिटो तथा गुणस्तरीय ढङ्गबाट सम्पन्न भएको पनि बताउनु भयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘स्थानीयलाई नै विकासको काममा जिम्मेवारी दिन अति आवश्यक छ । अहिलेसम्म राम्रो काम भएको पनि छ । सबै ठाउँमा त भन्न सकिँदैन । ऐतिहासिक धाम र सांस्कृतिक दृष्टिकोणले भरिपूर्ण रहेको ललितपुर कला संस्कृतिको क्षेत्रले चिनिन्छ ।’
प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकामा भएको विकास राष्ट्रिय स्तरमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाल र नेपालीको परिचय फराकिलो बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउनु भयो । २०७२ सालको भूकम्पले भीमसेन मन्दिरमा क्षति पुर्याएको थियो ।
यस मन्दिरको पुनर्निर्माण स्थानीय व्याबसायी र दाताहरुको आर्थिक सहयोगमा भएको हो । पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले पनि आर्थिक सहयोग गरेको थियो । फाइन आर्ट सिटीको नामले चिनिएको ललितपुरको पहिचान यहाँको सम्पदा हुन् । यो मन्दिर झण्डै तीन सय वर्ष अघि श्रीनिवास मल्लको पालामा निर्माण भएको हो।