देशभर सामान्य बदली रही पहाडी भेगमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना
डेटूडे खबर डेस्क
१८ चैत्र २०७८
जनकपुरधाम । अझै तीन दिन देशको अधिकाश भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभावले तीन दिनसम्म देशको अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति प्रदेश नं १ लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भागमा मौसम सफा रहने अनुमान छ । प्रदेश–१ का पहाडी भागका थोरै स्थान र गण्डकी प्रदेशका पहाडी भागका एक वा दुई स्थानमा मेघ गर्जनसहित चट्याङ र हल्का वर्षाको सम्भावना रहेको छ ।
हाल देशको पहाडी भागमा सामान्य बदली रही अन्य भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २५ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।