तालमेलमार्फत उम्मेदवारी दिएका व्यक्तिलाई जिताउन एक ढिक्का हुने सत्तारुढ पाँच दलीय गठबन्धनको निर्णय
                  
                            
                             डेटूडे खबर समाचारदाता  
                            
                             
                              १२ वैशाख २०७९  
  
                        
                            
काठमाण्डाै – सत्तारुढ पाँच दलीय गठबन्धनले तालमेलमार्फत उम्मेदवारी दिएका व्यक्तिलाई जिताउन एक ढिक्का हुने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साेमवार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले गठबन्धनको निर्णयअनुसार उम्मेदवारी दिएका व्यक्तिलाई जिताउन एक ढिक्का हुने निर्णय गरेको कांग्रेसका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । 
महानगर र उपमहानगरको भागबन्डा केन्द्रबाटै गरिएको, धेरै जिल्लामा स्थानीयस्तरबाट तालमेल भएको र सहमति जुट्न नसकेका ठाउँमा पनि सकभर सहमति जुटाउन आग्रह गरिएको कार्कीले जानकारी दिनुभयो । आन्तरिक असमझदारीलाई समाधान गर्दै चुनाव केन्द्रित हुन बैठकले नेता, कार्यकर्तालाई आग्रह गरेको छ । अहिले आवेशमा आएर गठबन्धन र दलको निर्णय विपरीत दर्ता भएका उम्मेदवारी फिर्ता हुने पनि कार्कीको भनाइ छ । 
 
                        
                     
                    
                  
                            