मतगणनास्थलहरुमा क्लोज सर्किट टेलिभिजन मार्फत निगरानी र अनुगमन गर्न देशभरका स्थानीय तहमा परिपत्र

  डेटूडे खबर समाचारदाता
  २० वैशाख २०७९

                            

२० वैशाख, काठमाडौं । निर्वाचन आयोगले मतगणनास्थलहरुमा क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) मार्फत निगरानी र अनुगमन गर्ने भएको छ । मतगणनास्थलको सुरक्षाका लागि आयोगले सीसीटीभीबाट निगरानी गर्ने र त्यसको रेकर्ड सुरक्षित राख्ने व्यवस्था मिलाएको हो ।

आयोगले डेढ महिनाअघि नै मतपेटिका भण्डारण र मतगणना दृश्य अनुगमनका लागि सीसीटीभी जडान गर्न र उपकरणहरुको बन्दोबस्त गर्न देशभरका स्थानीय तहमा परिपत्र गरेको थियो । आयोगले केन्द्रबाट नै इन्टरनेटको सुविधा पुगेका सबै ठाउँको अनुगमन गर्नेछ ।

पाँच वर्षअघि भरतपुरको मतगणनास्थलमा भएको घटनापछि केही ठाउँमा तारजाली राखेर मतगणना भएको थियो, तर त्यसले आम मानिसमा नकारात्मक सन्देश प्रवाह भएको महसुस भयो,’ आयोग स्रोतले भन्यो, ‘यसपालिदेखि हामीले तारजाली राख्दैनौं । सीसीटीभीमा सबै दृश्य रेकर्ड हुने व्यवस्था मिलाएका छौं ।’ आयोगले कुनै घटना भए सीसीटीभी फुटेजबाट प्रमाण संकलन र त्यसकै आधारमा निर्णय हुने जनाएको छ ।

पाँच वर्ष अघिको निर्वाचनमा चितवन महानगरपालिकामा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि मतगणनास्थलको सुरक्षा व्यवस्था चुनौतीपूर्ण बन्दै गएको छ । यस्ता घटना दोहोरिनसक्ने आशंकाका साथ त्यतिबेला नै अरु स्थानीय तहमा तारजाली राखेर मतगणना गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट