जयनगर–जनकपुरधाम रेलको एक बोगीमा केमिकल पोखिएर आगलागी

डेटूडे खबर डेस्क
२० जेठ २०७९
जनकपुरधाम । भारतको जयनगरबाट जनकपुर तर्फ आउन लागेको दिउँसोको रेल ठूलो दूर्घटना हुनबाट जोगिएको छ ।
भारतको जयनगरबाट बिहिवार दिउँसो सवा ३ बजे रेल छुट्टे लगतै एउटा बोगीमा धुँवा भएको थियो ।धुँवा भएको बोगीमा पाँच किलो ग्यास अँट्ने चुल्हो सहितको ग्याससिलिण्डर समेत रहेको थियो ।
रेलवे सय मिटर गुडे लगतै रेलको टीसीजी १९०२ नम्बरको डब्बाबाट धुँवा निस्केको थियो । यात्रु बस्ने सिट माथि लगेज राख्ने ठाउँबाट तल तरल पदार्थ चुहिएर धुँवा निस्केको रेलवेमा सवार यात्रुहरुले जनाए ।
प्रहरी र रेलवे कर्मचारीहरुको अनुसार माथि लुकाएर राखिएको एसिड चुहिएर धुँवा भएको थियो ।तर तत्कालै रेलवे पोलिस फोर्स (आरपीएफ) र रेलवेका कर्मचारीहरुले आगोलाई नियन्त्रणमा लिएका थिए । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ बस्ने ४० वर्षिया कलिना खातुनको ढाडमा एसिड खसेर घाइते भएको सशस्त्र प्रहरी बल बीओपी इनर्वाका प्रमुख सशस्त्र प्रहरी नायव निरीक्षक कमल बहादुर श्रेष्ठले जनाए ।
आरपीएफले नियन्त्रणमा लिएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्था बस्ने ५५ वर्षिया रतन खत्बे र धनुषाकै हँसपुर नगरपालिका वडा नम्बर २ बघचौडा बस्ने ३२ वर्षिया परम खत्वेलाई सशस्त्र प्रहरीको बीओपी इनर्वालाई बिहिवार साँझ नै सुपुर्द गरेको छ ।उनीहरु दुबै आमाछोरी हुन् ।
सशस्त्र प्रहरी बल धनुषाका एसपी प्रकाश कुमार सुवेदीले जनाए अनुसार पक्राउ गरिएको दुबै महिलालाई नेपाल ेलवेलाई जिम्मा लगाइएको छ ।रेलवेले आवश्यक अनुसन्धान र कार्वाहीका लागि नेपाल प्रहरीलाई राती करिब साढे ९ बजे बुझाएको बताइएको छ ।
पक्राउ परेकी रतन खत्बेका पति ५७ वर्षिय गुलमान खत्बे भने फरार छन् । उनी एसिड सहित फरार भएको आशंका गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
महिलाले बोकेको पाँच किलोको चुल्हो सहितको सिलिण्डरको बिक्री बितरण प्रतिबन्धित रहेको छ । एसिडको बिक्री र खरिद दुबैको खरिद बिक्रीमा विशेष निगरानी राखिएको छ ।