रूपन्देही बस दुर्घटना अपडेट : मृत्यु भएका ९ जनामध्ये सात जनाको सनाखत

डेटूडे खबर डेस्क
२२ जेठ २०७९
रूपन्देहीको रोहिणी गाँउपालिका–३ मा आज बिहान बस दुर्घटना परी मृत्यु भएका ९ जनामध्ये सात जनाको सनाखत भएको छ । दुर्घटनामा चालकसहित २४ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बुटवल–६ का ४० बर्षीय अरविन्द शर्मा, रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का अन्दाजी ५६ बर्षीय विष्णु पौडेल, रौतहटको चन्द्रनिगाहपुर बस्ने अन्दाजी २० बर्षीय दिनेश दास, बुटवल–११ कालिकानगरका अन्दाजी ४१ बर्षीय कृष्ण प्रसाद बस्याल, ओमसतिया गाँउपालिका–४ का अन्दाजी ६५ बर्षीय राजेन्द्र पाण्डे, रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ की ३७ वर्षीया तुल्सी बस्याल र बुटवल–६ का ५० वर्षीय नागेन्द्र शर्मा रहेका छन् ।
दुई जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिएका छन् । जनकपुरबाट भैरहवातर्फ आँउदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान साढे ४ बजे अनियन्त्रित भएर रोहिणी पुलबाट तल खसेको थियो ।