गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीकाे आश्वासन : नागरिकताकाे विषय चाँडाे सम्बाेधन हुन्छ

डेटूडे खबर डेस्क
०२ आषाढ़ २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरूको नागरिकताको समस्यालाई जतिसक्दो चाँडो सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
आज बिहीवार गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले काठमाण्डौमा आयोजना गरेको नागरिकता, लगानी तथा वैदेशिक रोजगारीसम्बन्धी सेमिनारलाई सम्बोधन गर्दैै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । सबै पक्षसँग समन्वय गरी गैरआवासीय नेपालीको नागरिताको विषयलाई जतिसक्दो चाँडो सम्बोधन गर्ने उहाँले आश्वासन दिनुभयो । आफूसँग भएको सीप र पुँजी नेपालको विकासमा लगाउन गैरआवासीय नेपालीहरूलाई प्रधानमन्त्री देउवाले आह्वानसमेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संसारभरि छरिएर रहेका नागरिकलाई मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न र डलर खाता खोलेर तथा बचत पत्र किनेर पाइदा उठाउन अपिल गर्दछु । गैरआवासीय नेपाली सङ्घको जायज मागप्रति सरकार संवेदनशील छ । नागरिकताको विषय जतिसक्दो चाँडो सम्बोधन गर्ने कुरा यहाँहरूलाई आश्वस्त गराउन चाहन्छु ।’
प्रधानमन्त्री देउवाले गैरआवासीय नेपालीले नेपाली राजदूतावाससँग समन्वय गरी विदशी लगानीकर्ताको पुँजीलाई नेपालमा भित्र्याउन अग्रसरता लिन आवश्यक रहेको समेत बताउनुभयो ।गैरआवासीय नेपालीले स्वदेशमा उत्पादित वस्तुलाई प्राथमिकता दिनसके मात्रै पनि स्वदेशमा उत्पादित वस्तु निकासी प्रवद्र्धनमा सहयोग पुग्ने उहाँको भनाइ छ ।
प्रधानमन्त्री देउवाले बजेटमा विदेशी लगानीको न्यूनतम सीमा पाँच करोडबाट घटाएर दुई करोडमा कायम गरिए पनि १० करोड रुपैयाँसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाइने बताउनुभयो ।