साताको अन्तिम दिन नेप्से दोहोरो अङ्कले बढ्यो

डेटूडे खबर डेस्क
१० आषाढ़ २०७९
तीन हप्तादेखि निरन्तर रूपमा गिरावट आएको नेप्से परिसूचक साताको अन्तिम दिन आज शुक्रबार भने सामान्य अंकले वृद्धि भएको छ ।
शुक्रबार नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ विन्दुमा पुगेको हो । यस्तै, सेन्सेटिभ इण्डेक्स २.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंकले बढेको छ ।
शुक्रबार २२३ कम्पनीको ३५ लाख ४१ हजार ५३७ कित्ता शेयर १ अर्ब १५ करोड १२ लाख रुपैयाँमा कारोबार भएको छ । कारोबार रकम भने अघिल्लो कारोबार दिनभन्दा कम हो ।
नेप्सेका १३ उपसूचकहरूमध्ये १२ वटा उपसमूहको सूचक बढेको छ भने म्युच्युअल फण्ड उपसूचकमा भने गिरावट आएको छ । जसमा फाइनान्स उपसमूहको सूचक सर्वाधिक १.९१ प्रतिशतले बढेको छ भने यता म्युचुअल फण्ड उपसमूहको सूचक ०.६७ प्रतिशतले घटेको छ ।
त्यस्तै शुक्रबार कारोबारमा आएका ङादी ग्रुप पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने सिवाईसी नेपालको शेयरमूल्य पनि ८.२१ प्रतिशतले बढेको छ ।
तर, आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने ७.८८ प्रतिशतले घटेको छ । कारोबार रकमको आधारमा ८ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार गरेर कुमारी बैंक शीर्ष स्थानमा रहेको छ ।