नेपालमा लागुपदार्थ दुर्व्यसनी चुनौती ः गृहमन्त्री खाण
डेटूडे खबर समाचारदाता
१२ आषाढ़ २०७९
काठमाण्डौ – गृहमन्त्री बालकृष्ण खाणले नेपालमा लागुपदार्थ दुर्व्यसनी चुनौतीको रुपमा अघि बढिरहेको बताउनुभएको छ ।
आज काठमाण्डौमा भएको लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले यस्तो बताउनुभएको हो ।
उहाँले लागु पदार्थको दुर्व्यसनका कारणले समाजलाई गम्भीर असर पारेको पनि बताउनु भयो । मन्त्री खाणले लागु औषधको गम्भीर असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको बताउनु भयो । उहाँले युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्नेकुरा सरकार र समाज सबैको दायित्व भएको पनि बताउनु भयो । गृहमन्त्री खाणले लागु औषध दुर्व्यसनीलाई कम गर्न सरकार संवेदनशील रहेको बताउनु भयो ।
उहाँले युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आउँदो दिनमा जनजागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपुस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउनुपर्ने र दुर्व्यसनीमा फसेका युवाहरुलाई सुधार्न अभियान थाल्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो ।
गृहमन्त्री खाणले विभिन्न आपराधिक गतिविधिहरु मध्येमा लागुपदार्थसँग सम्बन्धित अपराध झन्डै ८ प्रतिशतभन्दा बढी पुगिसकेको र लागुपदार्थ अपराधमा दोषी ६ हजारभन्दा बढी बन्दी कारागारमा रहेको उल्लेख गर्नुभयो ।