किनमेलका लागि भारतीय बजार जाँदै गर्दा २ महिलामाथि सामूहिक बलात्कार

डेटूडे खबर डेस्क
१३ आषाढ़ २०७९
पाल–भारत सीतावर्ती दाङ देउखुरीको राजपुरका दुई नेपाली महिलामाथि भारतीय क्षेत्रमा सामूहिक बलात्कार भएको छ । किनमेलका लागि भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका एक युवती र एक महिला भारतीय नागरिकबाट हिजाे आइतवार दिउँसाे बलात्कृत भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बलात्कार गर्नेहरूलाई भारतीय प्रहरीले पक्राउ गरी कारबाही थालेको दाङका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्द रिजालले केहीबेर अघि जानकारी दिनुभयो।
राजपुरका महिलाहरू नेपालबाट भारतको मनीपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको दक्षिणतर्फको जङ्गलमा भारतीय युवाको समूहले बलात्कार गरेको डीएसपी रिजालले जानकारी दिनुभयो । ६ जना महिला भारतीय बजार जाँदै थिए । तीमध्ये दुई जना बलात्कृत भएका र अन्य चार जनालाई भने भारतीय युवकले धम्काउँदै सामान लुटपाट गरेको प्रहरीको भनाइ छ ।
पीडित युवतीहरू प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिर आएको हो । घटनास्थल भारतीय भूमि भएकाले त्याे घटना भारतीय प्रहरीले अनुसन्धान कार्य अघि बढाएको जानकारी आफूहरूलाई प्राप्त भएको डीएसपी रिजालले बताउनुभयो । पीडित नेपाली पक्षले भारतीय प्रहरीमा जाहेरी दिइसकेका छन् । भारतीय प्रहरीले अनुसन्धानका लागि चार जना पक्राउ गरेको जानकारी दिएको डीएसपी रिजालले बताउनुभयो ।
नेपाल–भारत सीमा क्षेत्र राजपुरका धेरै बस्तीका मानिसहरू अहिले पनि किनमेलका लागि जङ्गलको बाटो हुदै भारतीय बजारमा जानुपर्ने बाध्यता छ ।