संसदबाट नागरिकता विधेयक फिर्ता लिने सरकारको तयारी

डेटूडे खबर डेस्क
२४ आषाढ़ २०७९
काठमाडौं । सरकारले संसदबाट आज नागरिकता विधेयक फिर्ता लिने तयारी गरेको छ।
गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो। सोही अनुसार आज दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
हिजो पनि संभावित कार्यसूचीमा रहेको विधेयक फिर्ता लिने विषय अन्तिममा कार्यसूचीबाट हटाइएको थियो। २०७५ सालमा संसदमा पेश भएको विधेयक चार वर्षपछि सरकारले फिर्ता लिन लागेको हो। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रतिवेदन बुझाइसके पनि दलहरुबीच केही प्रावधानमा सहमती नजुटेपछि विधेयक फिर्ता लिएर अर्को विधेयक ल्याउने सरकारको तयारी छ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची छ।
त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने संसद सचिवालयले जनाएको छ।