‘कमेडी हब’मा अभिनय गरेको भन्दै कलेजले शिक्षकलाई जागिरबाट हटाईयो !

डेटूडे खबर डेस्क
२७ आषाढ़ २०७९
काठमाडौं । केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को निर्देशनमा प्रसारण भइरहेको टेलिभिजन शो ‘कमेडी हब’मा अभिनय गरेको भन्दै काठमाडौंको एक कलेजले शिक्षक समेत रहेका कलाकारलाई जागिरबाट निकालेको छ ।
सुकेधारास्थित बागमती कलेजले पाँच वर्षदेखि शिक्षकको रुपमा कार्यरत दीपेन्द्र प्रसाईंलाई हटाएको हो । जेठ ११ गते प्रसारण भएको शोको पहिलो भागमा प्रसाईंले यमराजको भूमिकामा अभिनय गरेका थिए ।
उक्त भागमा कलेज र बोर्डिङ स्कुलको विकृति विसंगतिलाई लिएर व्यंग्य गरिएको थियो । शिक्षक भएर आफ्नै कलेजको कुरा बाहिर ल्याएको भन्दै आफूलाई निष्कासन गरिएको प्रसाईंले बताए ।