ई-स्पोर्टसको एक करोडबारे बोले नगरप्रमुख बालेन्द्र
डेटूडे खबर डेस्क
३० आषाढ़ २०७९
रुटिन अफ नेपाल बन्दको लागि काठमाण्डौँ महानगरपालिकाले १ करोड रुपैयाँ बिनियोजन गरेको भन्दै सञ्चारमाध्यममा आएका समाचारप्रति काठमाडौं महानगर प्रमुख मेयर बालेन्द्र शाहले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।
मिडियाका समाचारले आफ्नो गम्भिर ध्यानाकर्षणले भएको भन्दै पत्रकारलाई मर्यादामा वस्न आग्रह पनि गरेका छन् ।
बिहीबार आफ्नो फेसबुक पेजमा उनले लेखेका छन्, ‘सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका बिषयमा ध्यानाकर्षण भएको छ । ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन । आधुनिक विश्वमा ई–स्पोर्टस खर्बौँको आर्थिक योगदान गर्ने बिधा हो । नेपालमा पनि यसको व्यवसायीक पाटो बढ्दैछ भने यहि बर्ष हुने एसियाली खेलमा ई–स्पोर्टस पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई–स्पोर्टसका खेलाडीहरुले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् । यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो ।
कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ । फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन । साथसाथै, यो बिषयलाई लिएर अतिरञ्जित र अनैतिकरुपमा मेरो नाम जोडिएका समाचारहरुको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध गर्दछु ।’
एक करोड रुपैयाँमा जोडिएको रुटिन अफ नेपाल बन्दले पनि आज एक विज्ञप्ती जारी गर्दै आफ्नो संस्था यस्ता कार्यक्रम आयोजक नभएको बताएको थियो ।
