फ्राइडे रिलिज : रणवीरको \'शमशेरा\' हलमा, नवौँ हप्तामा \'कबड्डी ४\'
.jpg)
डेटूडे खबर डेस्क
०६ श्रावण २०७९
जनकपुरधाम । शुक्रबारदेखि नयाँ बलिउड फिल्म 'शमशेरा'ले प्रदर्शन थालेको छ। रणवीर कपूर मुख्य भूमिकामा रहेको फिल्मले शुक्रबारदेखि एकल प्रदर्शन थालेको हो।
पिरियड एक्सन जनरामा बनेको फिल्मलाई नीलेश मिश्रा र खिला विष्टले लेखेका हुन् भने निर्देशन करन मलहोत्राले गरेका हुन्। अर्ब सय ५० करोड बजेट रहेको फिल्ममा रणवीरका साथै सञ्जय दत्त र वानी कपूरको पनि मुख्य भूमिका रहेको छ।
फिल्मले मल्टिप्लेक्समा ७० देखि ८८ प्रतिशतसम्म शो पाएको छ। जुन सबैभन्दा धेरै हो। शो अनुसार फिल्ममा दर्शकको चाप पनि अन्य फिल्ममा भन्दा बढी छ। 'शमशेरा'पछि शुक्रबारदेखि तेस्रो हप्तामा प्रवेश गरेको 'थोर : लभ एण्ड थण्डर'ले १५ देखि २५ प्रतिशतसम्म शो पाएको छ।
शुक्रबारदेखि हलमा लागिरहेका धेरै फिल्म उत्रेका पनि छन्। देशको सबैभन्दा ठूलो चेन क्युएफएक्समा बिहीबारसम्म ९ वटा फिल्म प्रदर्शनरत रहेकोमा अहिले ५ वटा फिल्म मात्रै रहेका छन्।
शुक्रबारदेखि नेपाली फिल्म 'कबड्डी ४' नवौँ हप्तामा प्रवेश गरेको छ। सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको कीर्तिमान बनाएको फिल्मले गत हप्ता ५१ दिन मनाउँदै कोरोनापछि ५१ दिन मनाउने पहिलो नेपाली फिल्म बनेको थियो।