हिरासतमा रहेकी महिलालाई असईले बलात्कार गरेको आरोप

डेटूडे खबर डेस्क
१३ श्रावण २०७९
काठमाडौं । बाँकेको कोहलपुरस्थित हिरासतमा रहेकी एक महिलामाथि प्रहरीले नै बलात्कार गरेको आरोप लागेको छ।
बहुविवाहको मुद्दामा इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी महिलालाई मुद्दा शाखाका प्रहरी सहायक निरीक्षक प्रविण चौलागाइले बलात्कार गरेको आरोप लागेको हो।
बलात्कारको आरोप लागेपछि चौलागाईलाई नियन्त्रणमा लिइएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए। उनका अनुसार पीडित भनिएकी महिलाले पहिले बलात्कारको आरोप लगाएपछि अनुसन्धान भइरहेको छ।
पीडित महिलालाई परामर्शका लागि उनको आफन्त, महिला अधिकारकर्मी, मानव अधिकारकर्मीलाई दिउँसो ३ बजे बोलाइएको डिएसपी न्यौपानेले बताए। उनका आफन्त, मानव अधिकारकर्मीहरूसँग पीडितको बयानका आधारमा घटनाबारे थप अनुसन्धान अगाडि बढाइने उनको भनाइ छ।
गएराति (बिहीबार राति) पक्राउ परेकी महिलालाई प्रहरी सहायक निरीक्षक चौलागाईले मुद्दाबारे सोधपुछ गर्ने भन्दै हिरासतबाट निकालेर माथिल्लो कोठामा लगेर बलात्कार गरेको पीडित महिलाको दाबी छ। तर पीडित भनिएकी महिलाले शुरुमा आरोप लगाए पनि पछि फेरि बलात्कार भएको होइन भनेकी डिएसपी न्यौपानेले बताए।