श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि नेपालगञ्जमा आपत्कालीन अवतरण

डेटूडे खबर डेस्क
१९ श्रावण २०७९
नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन(एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ ।
जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काएर आपतकालीन अवतरण गराइएको हो । श्री एयरलाइन्सको नेपालगन्ज कार्यालयका अनुसार ७९ यात्रु र ४ जना चालक दलका सदस्यसहित बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा उडेको जहाज पाँच मिनेट नपुग्दै फेरि नेपालगन्ज फर्किएको हो।नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाज अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । जहाज सुरक्षित अवतरण भएको छ ।