न्युजिल्यान्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा वेस्ट इन्डिज ५ विकेटले विजयी
डेटूडे खबर डेस्क
०२ भदौ २०७९
न्युजिल्यान्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिज ५ विकेटले विजयी भएको छ ।
ब्रिजटाउनमा आज बिहान भएको खेलमा न्युजिल्यान्डले दिएको १ सय ९१ रनको लक्ष्य वेस्ट इन्डिजले ३९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका शामरन ब्रुक्सले ७९ रनको अर्धशतकीय पारी खेले ।
कप्तान निकोलस पुरनले २८ तथा शाई होपले २६ रन बनाए । पाहुना टोली न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र टिम साउदीले समान २/२ तथा मिचेल स्याट्नीरले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले अलआउट हुँदै १ सय ९० रन बनाएको थियो । उसका कप्तान केन विलियम्सले ३५ तथा मिचेल ब्राकिवेलले ३१ रन बनाए ।
वेस्ट इन्डिजका अकिल होसेन र अल्जारी जोसेपले समान ३/३ तथा जासन होल्डरले २ विकेट लिए । जितसँगै तीन खेलको एक दिवसीय शृङ्खलामा घरेलु टोली वेस्ट इन्डिजले १–० को अग्रता बनाएको छ । दोस्रो एक दिवसीय भोलि र तेस्रो तथा अन्तिम खेल आइतवार हुनेछ ।