‘इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले पहल गर्नुपर्छ’
डेटूडे खबर डेस्क
०४ भदौ २०७९
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले चाहेमा मूल्य वृद्धि नियन्त्रण गर्न सक्ने उनले बताए । शनिबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामुदायिक सभा हल उद्घाटन कार्यक्रममा बोल्दै नेता सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने बताए ।
इन्धनको मूल्य समायोजनप्रति आफ्नै पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकारको ध्यानाकर्षण गराउँदै नेता सिंहले भने, ‘अटोमेटिक प्राइसिङ सिस्टम त छँदैछ, उपभोक्तालाई मारमा पार्दिनु भएन । सरकारले अलिकति पहल गर्नुपर्यो ।’ स्वचालित मूल्य प्रणाली लागू गरिए पनि अन्तर्राष्ट्रिय बजारमा तीन पटकसम्म इन्धनको मूल्य घट्दा समेत नेपाल आयल निगमले मूल्य घटाएको छैन । यसबाट सरकारको आलोचना भइरहेको छ ।