महानगरले राहदानी विभागकाे \'बेसमेन्ट\' खाली गरायाे

डेटूडे खबर डेस्क
१० भदौ २०७९
काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाले त्रिपुरेश्वरमा रहेकाे राहदानी विभागको बेसमेन्टमा रहेका संरचनाहरू हटाएको छ ।
शुक्रवार महानगरपालिकाले राहदानी विभागको बेसमेन्टमा रहेका संरचनाहरू हटाएको हो । सेवा लिन जाने सेवाग्राहीले आफ्ना गाडी विभागबाहिर नै पार्किङ गर्नुपर्ने बाध्यता रहेकाले गाडी आउजाउमा समस्या आएको गुनासो गरेपछि महानगरपालिकाले अध्ययन गरेर बेसमेन्टरमा रहेका संरचनाहरू हटाएको हो । अनुगमनका क्रममा विभागले सवारी पार्किङका लागि छुट्याउनुपर्ने बेसमेन्टमा प्रतिक्षालय बनाएको पाइएको थियो । महानगरपालिकाले बेसमेन्टमा रहेका संरचनासहित बेञ्चहरू हटाएर पार्किङका लागि खाली गराएको छ ।
अवैध संरचना हटाइसकेपछि सञ्चारकर्मीसँगको कुराकानीमा काठमाण्डाै महानगरपलिकाका नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजु पाण्डेले महानगरभित्र यसरी अवैध संरचना बनाएका ठाउँ तीन सय वटाभन्दा बढी रहेको जानकारी आएको बताउनुभयो । उहाँले भवन निर्माण गर्दा के प्रयोजनका लागि नक्सा पास गरिएको हो भन्ने कुरा स्पष्ट खुलाइएकोले प्रयोजनअनुसारकाे काम गर्नुपर्ने बताउनुभयो । नागरिकले पनि आफ्नो तहबाट जिम्मेवारी भूमिका निर्वाह गर्नुपर्ने उहाँकाे भनाइ छ ।
काठमाण्डाै महानगर क्षेत्रका व्यावसायिक प्रतिष्ठानका भवन र सार्वजनिक भवनमा गाडी पार्किङका लागि भनेर बेसमेन्ट बनाउन ‘कर छुट’ को सुविधा लिइए पनि अन्य प्रयोजनमा प्रयोग भएको पाइएपछि महानगरपालिकाले साउन महिनामा नै ३५ दिने सूचना जारी गरेको थियो । त्याे सूचनाको पालना गरेको नपाइएपछि महानगरपालिकाले स्थलगत अनुगमन नै थालेर अवैध संरचनाहरू हटाउन सुरु गरेको थियो । संरचना हटाएपछि राहदानी विभागले भने भवनको नक्साअनुसार बेसमेन्टमा पार्किङ राख्ने पहल गर्ने जनाएको छ ।
यसैबीच राहदानी विभागले अब बेसमेन्टमा आउँदाे आइतवारदेखि पार्किङ हुने जनाएकाे छ । विभागले सूचना नै निकालेर याे जानकारी दिएकाे हाे ।