त्रिभुवन विश्वविद्यालयको समस्या तत्काल समाधान गर्न सभामुखको सरकारलाइ निर्देशन
डेटूडे खबर डेस्क
१४ भदौ २०७९
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको समस्या तत्काल समाधान गर्न सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाइ निर्देशन दिनु भएको छ ।
प्रतिनिधिसभाको बैठकको सुरुमै नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले त्रिभुवन विश्वविद्यालय सरकारको संरक्षणमा अराजक भएको भन्दै सभामुख मार्फत् सरकारको ध्यानाकर्षण गराएपछि सभामुखले रुलिङ गर्नु भएको हो ।
बैठकमा नेकपा एमालेका सांसद ज्ञवालीले विश्वविद्यालयमा भएको गुण्डागर्दीबारे कुलपति समेत रहनु भएका प्रधानमन्त्री मौन बनेको भन्दै आपत्ति जनाउनु भएको थियो । यसबारे गृहमन्त्री, शिक्षामन्त्री वा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै सांसद ज्ञवालीले रुलिङको माग गर्नु भएको थियो । त्यसो नगरिए सभाको गतिविधि अगाडि बढ्न नसक्ने भन्दै एमाले सांसदहरु उठेपछि सभामुखले रुलिङ गर्नु भएको हो ।
तीन वर्षअघि धर्मकान्त बाँस्कोटा उपकुलपति नियुक्त भएदेखि नै विश्वविद्यालयमा तालाबन्दी, तोडफोड र अवरोध हुँदै आएको छ । यो अवधिमा ३०० दिन त्रिविमा तालाबन्दी भएको छ । विद्यार्थीहरुमाथिको धरपकड, हुबहु प्रश्नपत्र छापिएको विषयदेखि नेतृत्व बदल्नु पर्ने सम्मका माग विद्यार्थीहरुले राख्दै आएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक-२०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरिएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सो प्रस्ताव पेस गर्नु भएको हो ।