ओरकेष्ट्रा नाच बन्द गराउन गएका प्रहरी र गाउँलेबीच झडप
.jpg)
डेटूडे खबर डेस्क
१७ भदौ २०७९
जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित प्रतिबन्धित ओरकेष्ट्रा नाच बन्द गराउन गएका प्रहरी र गाउँलेबीच झडप भएको छ ।
गएराती करिब १२ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २२ बसबिट्टिस्थित गणेश पूजाको अवसरमा ल्याएको ओरकेष्ट्रा बन्द गराउन गएका प्रहरी र स्थानीयवासीबीच झडप भएको हो ।
धनुषामा प्रतिबन्धित रहेको अश्लिल ओरकेष्ट्रा (महिला नर्तकी नाच) बन्द गराउन गएका प्रहरी टोलीमाथि केही स्थानीयहरुले कुटटिप गरेपछि एक जना प्रहरी घाईते भएका छन् ।
जनकपुरधाम उपमहानगपालिका वडा नम्बर २२ बस्ने स्थानीय राम भिखारी पण्डितको दरबाजामा आयोजना गरिएको ओरकेष्ट्रा नाच बन्द गराउन गएका प्रहरी टोलीमाथि केही युवकहरुले आक्रमण गरेका थिए ।
वडा प्रहरी कार्यालय जिरोमाईलबाट खटि गएको प्रहरी टोलीले दुई पटकसम्म बन्द गराएपनि गाउँका केही उच्छृँगल युवकहरुले पुनः ओरकेष्ट्रा गराउन खोजेपछि झडप भएको थियो ।
तेस्रो पटक ओरकेष्ट्रा बन्द गराएका प्रहरीको टोलीमाथि स्थानीय युवकहरुले निर्घात कुटपिट गरेपछि झडप भएको थियो । सो क्रममा जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी हबल्दार सुजित कुमार झाको टाउको फुटाएको हो ।
प्रहरीमाथि कुटपिट भएपछि एक क्षणमै जिल्ला प्रहरी कार्यालय धनुषाबाट तीन भ्यान प्रहरी फोर्स गएको थियो । राती उच्ृछँगल गर्ने युवकहरुलाई गाउँभरि खोजबिन जारी राखेको थियो ।
भारी सँख्यामा प्रहरी परिचालन भएपछि प्रहरी कुटपिट तथा ओरकेष्ट्रा नचाउनमा सँलग्न रहेका युवकहरु गाउँ छाडेर राती नै फरार भएका छन् । उनीहरुको खोजी कार्य अहिले पनि तीव्र पारिएको छ ।
धनुषामा प्रशासनले प्रतिबन्ध गरेको ओरकेष्ट्रा नाचको क्रममा अप्रीय घटनाहरु हुने गरेकोले प्रशासनले यसमाथि खास निगरानी राखेको छ । कोही सर्वसाधारणले फोन मार्फत पनि जानकारी दिएपछि प्रहरीले बन्द गराउने गरेको छ ।
सो क्रममा केही स्थानीयहरु समेत समान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।