राष्ट्रपतिबाट दाेस्राे पटक संविधान उल्लङ्घन भयाे : पूर्वराष्ट्रपति डा.रामवरण यादव

डेटूडे खबर डेस्क
०५ असोज २०७९
पूर्वराष्ट्रपति डा. रामवरण यादवले सङ्घीय संसदले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ । राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरि राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लङ्घन गरेको पूर्वराष्ट्रपति यादवको भनाइ थियो ।
बुधवार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रतिनिधि सभा विघटन गरेर पहिलो चोटि संविधान उल्लङ्घन गर्नुभएकी राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर फेरि संविधान उल्लङ्घन गरेको भन्दै आपत्ति जनाउनुभयो । दोस्रो पटक पनि सङ्घीय संसद्को दुवै सदनले पारित गरेर पठाएको विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण हुनबाट रोक्न मिल्ने अवस्था नै नरहेको उहाँले बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘आज गणतान्त्रिक कालमा प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपतिबाट दुई चोटि सदन भङ्ग भयो । त्यसलाई हटाउन दलीय गठबन्धन, नागरिक समाज, बुद्धिजीवी, यही मिडिया र सम्पूर्ण नेपाली जनताको प्रयासले संविधान ट्र्याकमा ल्याउने काम भएको थियो । आज दुई वटै सदनबाट पास भएर विधेयक गएको थियो । त्यसलाई सम्माननीय राष्ट्रपतिजीले प्रमाणीकरण नगरि फेरि एकचोटि संविधान उल्लङ्घन गर्नुभएकाे छ ।’
पूर्वराष्ट्रपति यादवले बेलायत, भारत, अमेरिकालगायतका लोकतान्त्रिक देशहरूको परम्परा र संविधानविद् तथा कानुनविद्हरूसँग परामर्श गरेर नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति भण्डारीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । राष्ट्रपतिले त्याे विधेयक प्रमाणीकरण नगरेर नेपालको लोकतन्त्रमै कालो बादल मडारिएको उल्लेख गर्दै संविधानलाई बचाउन नेपाली नागरिकलाई सजग भएर लाग्नुपर्ने उहाँकाे भनाइ थियाे ।
पूर्वराष्ट्रपति यादवले केपी ओली नेतृत्वको सरकारले संविधान विपरीत प्रतिनिधि सभा भङ्ग गर्दा दलीय गठबन्धन, नागरिक समाज, बुद्धिजीवी, सञ्चार क्षेत्र र नागरिकले बचाएको उल्लेख गर्दै फेरि पनि संविधान बचाउन पहल गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रपति भण्डारीको यो कदम पनि नसच्चिए फेरि देशमा प्रतिगमन हुने बताउनुभयो ।