खुल्ला चिडियाखानाको शिलान्यास

डेटूडे खबर डेस्क
०७ असोज २०७९
बारा । मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा नेपालकै पहिलो खुल्ला चिडियाखानाको निर्माण कार्य सुरु भएको छ।
वन तथा वातावरण मन्त्री प्रदीप यादवले पर्साको वीरगन्ज महानगरपालिका ३१ सोलखपुर र वडा नं ३२ रामवन क्षेत्रमा प्राणी उद्यान चिडियाघरको बिहीबार शिलान्यास गरेका हुन्।
सो अवसरमा मन्त्री यादवले वन क्षेत्रको जग्गा चाहे जति उपलब्ध हुने यो स्थानमा नेपालकै पहिलो खुल्ला चिडियाखाना बनाउन आफू लागिपरेको बताए। पर्साको सबैया साझेदारी वन क्षेत्रमा चिडियाखाना बनेसँगै मधेश प्रदेश र तराई क्षेत्रकै पर्यटन विकासमा टेवा पुग्ने उनको विश्वास छ।
देशको मुख्य राजश्व प्रदायक बारा–पर्सामा विकासको गति सुस्त भएको प्रसंग जोड्दै चिडियाखानको निर्माणसँगै यस क्षेत्रको विकासले फड्को मार्ने मन्त्री यादवले ठोकुवा गरे।
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकालले बहुबर्षीय कार्ययोजना बनाई बजेटको अभाव हुन नदिने गरी वन्यजन्तु अस्पताल सहितको चिडियाखाना निर्माणमा तिब्रता दिनेमा विभागको ध्यान रहेको बताए। यसैगरी प्रकृति संरक्षण कोषका महानिर्देशक शरदचन्द्र अधिकारीले लामो समयपछि बन्न लागेको चिडियाखानालाई आवश्यक जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
यस चिडियाखानाको क्षेत्रफल ५० हेक्टर रहेको छ। जसमा ३९.४ हेक्टरमा घाँस बुट्यान, ७.५ हेक्टरमा सघन वन र ३.१ हेक्टर अतिक्रमित क्षेत्र छ। अतिक्रमित क्षेत्रमा कच्ची र पक्की संरचना गरेर ४० वटाजति घर टहरा छन्।
उष्ण सालयुक्त वन यो क्षेत्रमा साल, कर्मा, अस्ना छ भने घुमन्ते बाघ समेत देखिने गर्छ भने चित्तल, अरायो, दुम्सी, वन विरालो, पुडके बँदेल, चौका, सुगा, मैना, गरुड, सारस, पनि पाइन्छ।
त्यस्तै, घस्रने जनावरमा कोब्रा, अण्डा खाने र मुसा खाने सर्प पनि देखिने गरेको स्थानीय बताउँछन्। सिमरा विमानस्थलबाट प्रस्तावित क्षेत्र ४ किलोमिटरको दुरीमा पर्छ।
पानीको निरन्तर आपूर्तिका लागि सदाबहार बग्ने पूर्वमा कियासुत र पश्चिममा भेडाहा नदी रहेको छ।