इङ्ल्यान्डसँगको चौथो टी–२० क्रिकेटमा पाकिस्तान ३ रनले विजयी
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              १० असोज २०७९  
  
                        
                            
जनकपुरधाम । इङ्ल्यान्डसँगको चाैथाे टी–२० क्रिकेटमा पाकिस्तान विजयी भएको छ । कराचीमा गए राति पाकिस्तानले इङ्ल्यान्डलाई ३ रनले हराएको हो ।
जितसँगै पाकिस्तानले ७ खेलको शृङ्खलामा २–२ को बराबरी गरेको छ । पाकिस्तानले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६३ रनमा समेटियो । इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले ३४ र  लियाम डसनले ३४–३४ रनको योगदान गरे । यस्तै,  बेन डुकेटले ३३ तथा कप्तान मोइन अलीले २९ रन बनाए ।
पाकिस्तानका लागि मोहम्मद नवाज र हरिस राउफले ३/३ विकेट लिए भने मोहम्मद होस्नेनले २ तथा मोहम्मद वासिमले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।
पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ८८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै बाबर आजमले ३६ तथा शान मसोदले २१ र आशिफ अलीले १३ रन बनाए । इङ्ल्यान्डका लागि रिसी टोप्लेले २ विकेट लिए भने  लियाम डसन र डेबिड विल्लेले समान एक/एक विकेट लिए।
 
                        
                     
                    
                  
                            