आजदेखि मौमस क्रमिकरूपमा सुधार

डेटूडे खबर डेस्क
२५ असोज २०७९
जनकपुरधाम । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले मनसुन क्रमिकरूपमा सुधार हँुदै गएको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिनुभयो । उहाँले अबको दुई दिनपछि नेपालको मौसममा पूर्णतया सुधार हुने बताउनुभयो । मौसमविद् भट्टराईले भन्नुभयो, “मनसुन जारी रहे पनि वर्षा गराउने प्रणाली कमजोर भएको छ । आज कर्णाली र सुदूरपश्चिमका केही स्थान र पूर्वका धेरै स्थानमा वर्षा हुने देखिन्छ । भोलिदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सुधार हुन्छ, बिहीबारदेखि देशैभर मौसम सफा रहन्छ ।”
जारी मनसुनका साथै आसपास विकास भएको न्यूनचापीय प्रणालीको प्रभावले विगत आठ दिनदेखि निरन्तरको वर्षा पछिल्लो तीन दिनयता खण्डितरूपमा मात्रै भइरहेको छ। मनसुन बाहिरिन अझै एक साता लाग्ने महाशाखाले जनाएको छ ।
हाल नेपालमा हरियाणा आसपास रहेकोे न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।