बालसुधार गृहबाट पाँच जना फरार
.jpg)
डेटूडे खबर डेस्क
३१ असोज २०७९
भैरहवा । भैरहवास्थित बाल सुधार गृहमा राखिएका ५ जना किशोर सोमबार बिहानदेखि फरार भएका छन् । बाल सुधारगृहका अनुसार फरार हुनेमा नवलपरासीका ३ जना, रुपन्देही र कपिलवस्तुका एक–एक जना किशोर छन् ।
भागेकामध्ये ३ जना जबर्जस्ती करणी, एक जना चोरी र एक जना लागूऔषध मुद्दामा अभियोग प्रमाणित भई सुधार गृहमा राखिएका थिए । उनीहरू सुधारगृहमा रहेको भान्साको झ्यालको डण्डी काटेर भागेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी तथा प्रहरी प्रवक्ता श्यामु अर्यालले प्रहरी टोली परिचालन गरी भागेकाहरूको खोजी कार्य भइरहेको बताए । ‘हामीले खोजी कार्य जारी राखेका छौं’ उनले भने, ‘सम्भावित स्थानहरूमा खोजी भइरहेको छ ।’
५ बर्षअघि निर्माण भएको लुम्बिनी प्रदेश स्तरीय बालसुधार गृहको सुरक्षाका लागि प्रहरी नायव निरीक्षकको नेतृत्वमा १० जना प्रहरीको दरबन्दी छ । यस घटनाको विषयलाई लिएर सुरक्षाकर्मीको भूमिकाको बारेमा पनि अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।