यूएईलाई श्रीलंकाले हरायो
डेटूडे खबर डेस्क
०१ कार्तिक २०७९
गेलोङ । श्रीलंकाले ट्वान्टी-ट्वान्टी विश्वकपको प्रारम्भिक चरणको समूह ‘ए’ को खेलमा यूएईमाथि मंगलबार एकपक्षीय जित निकालेको छ । श्रीलंकाले यो खेल ७९ रनले जितेर सुपर–१२ पुग्ने सम्भावनालाई जीवन्त राख्यो ।
समूहको शीर्ष दुई स्थानमा रहेर अर्को चरणको यात्रा तय गर्न नेट रन रेनले भूमिका खेल्न सक्ने स्थितिमा श्रीलंकाले यो प्रभावशाली जित हात पारेको हो ।
नामिबियाविरुद्धको पहिलो खेल गुमाएर खराव सुरुआत गरेको एसियाली च्याम्पियन श्रीलंकामाथि यो खेल ठूलो अन्तरले जित्नै पर्नेै दवाव थियो । समूह ‘ए’ मा नेदरल्यान्ड्स दुई जितसहित शीर्ष स्थानमा छ भने त्यसपछि नामिबिया र श्रीलंका एक/एक जितको स्थितिमा रहेका छन् । यूएईको भने यो लगातार दोस्रो हार हो र उसको अर्को चरण पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।
जितका लागि १ सय ५३ रन पछ्याएको यूएई १७।१ ओभरमा ७३ रन बनाएर अलआउट भएको हो । उसका लागि सातौं क्रमका ब्याट्र आयन अजफल खानले बनाएको १९ रन नै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर रह्यो । श्रीलंकाली बलरमध्ये डसुशमन्थ चमेरा र वानिन्दु हसरंगाले तीन तीन विकेट लिए ।