सन्दीपलाई थप चारदिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

डेटूडे खबर डेस्क
०२ कार्तिक २०७९
नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै उनलाई थप हिरासतमा राख्न बुधबार अदालतसँग अनुमति मागेको थियो । यो सँगै अदालतले उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।
पछिल्लो पटक २७ असोजमा अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीले अनुसन्धान सकाएपछि प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसमक्ष पेस गर्नेछ । त्यसपछि थुनछेकको बहसको काम सुरू हुनेछ ।
२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि प्रहरीले २० असोजबाटै गणना हुने गरी पहिलोपटक गत २४ असोजमा सात दिनको म्याद थप गरेको थियो । दोस्रोपटक २७ असोजमा पाँच दिनको म्याद थप गरेको थियो ।
जसको अवधि मंगलबार सकिएको छ । तर, मंगलबार सार्वजनिक बिदा भएकाले आज म्याद थपका लागि अदालतमा उपस्थित गराउने भएको हो । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई बलात्कार गरेको आरोप लागेको थियो।