जनकपुरधाम : एम्बुलेन्सबाट तस्करीको सामान बरामद,चालक फरार

डेटूडे खबर डेस्क
०३ कार्तिक २०७९
जनकपुरधाम । तस्करीको सरसामान ओसारपसार गर्न तस्करहरुले बिरामी बोक्ने एम्बुलेन्सको प्रयोग गरेको पाइएको छ ।
बिहीबार बिहान जनकपुरधामबाट एम्बुलेन्समा लोड गरिएको अवस्थामा तस्करीको सरसामानहरु प्रहरीले नियन्त्रणमा लिएपछि रहस्य बाहिरिएको हो ।
प्रहरीले बिहीबार जनकपुरधाम उपमहानगरपालिका–१७ कटरैतबाट तस्करीको सरसामान सहित एम्बुलेन्स नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
बिहान ४ बजेको समयमा सो ठाउँमा केही स्थानीय र सो एम्बुलेन्स चालकबीच बादविवाद भइरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले श्री माई भ्याली बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित मे.१ च. ३५० नम्बरको एम्बुलेन्समा भन्सार छली गरी चोरी पैठारी जस्ता किरानाजन्य सामान तथा बिभिन्न किसिमका पटाकाहरु लोड रहेको अवस्थामा नियन्त्रणमा लिएको उनले बताए ।
भारतको जयनगरबाट जनकपुरधामतर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी एम्बुलेन्समा लोड गरेर ल्याइरहेको किरानाजन्य सामान तथा बिभिन्न किसिमका पटाकाहरु नियन्त्रणमा लिइएको उनले बताए । एम्बुलेन्सका चालक प्रहरीलाई देख्नेबित्तिकै फरार भएको डीएसपी क्षेत्रीले जानकारी दिए ।
पक्राउ परेका सरसामानहरु अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको र उक्त एम्बुलेन्स तथा सरसमान आजै भन्सार कार्यालय जनकपुरधाममा पठाइने डीएसपी क्षेत्रीले जानकारी दिए ।
यता, उक्त एम्बुलेन्स धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगर बस्ने बीरेन्द्र सिंह दनुवारको नाममा दर्ता रहेको नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति नरेश प्रसाद सिंहले जानकारी दिएका छन् ।