महोत्तरीमा बिक्री वितरण भइरहेको घरेलु मदिरा नष्ट गरिँदै

डेटूडे खबर डेस्क
०२ मंसिर २०७९
महोत्तरी । प्रहरीले महोत्तरीमा बिक्री वितरण भइरहेको घरेलु मदिरा नष्ट गरेको छ । बर्दिबास नगरपालिकाको विभिन्न ठाउँमा बिक्री वितरण भइरहेको १८० लिटर मदिरा बिहीबार राति नष्ट गरिएको छ ।
मदिरा बिक्री वितरण गर्न राेक गरेको अवस्थामा विभिन्न होटलमा बिक्री भइरहेको मदिरा जनप्रतिनिधि र स्थानीयको रोहवरमा नष्ट गरिएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । निर्वाचन अवधिभर कुनै पनि अवाञ्छित क्रियाकलाप नहुन भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा यसअघि नै मदिरा बिक्री वितरण र ओसारपसारमा पूर्ण रूपमा रोक लगाइसकेको छ।
यसका बाबजुद पनि मदिरा बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको हो । जिल्लाका चारवटै क्षेत्रमा प्रहरीहरू तैनाथ गरी मदिरा बिक्री वितरणको विषयमा निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष पोखरेलले जानकारी दिए ।