धनगढीमा प्रदर्शन, ८ राउन्ड हवाई फायर

डेटूडे खबर डेस्क
१६ मंसिर २०७९
धनगढी । धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले बिहिबार रातिदेखि लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो।
स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले अहिलेसम्म विभिन्न स्थानमा ८ राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ। हवाई फायरपछि विद्यार्थीहरू तितरवितर भएका छन्।
बिहीबार धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँदको ग्रेडरले किचेर मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित भइरहेका छन्। हिजो बिहान १० बजे कक्षा ८ मा अध्ययनरत साउँदको सडक निर्माणका क्रममा ग्रेडरले किचेर मृत्यु भएको थियो।
घटनाले उग्र रूप लिएपछि बिहीबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको छ।