महिलामाथि सामूहिक बलात्कार, ४ जना पक्राउ

डेटूडे खबर डेस्क
१९ मंसिर २०७९
सुनसरी । सुनसरीको इटहरीमा महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-१० का २५ वर्षीय विकास चौधरी, २८ वर्षीय मुकेश चौधरी, २० वर्षीय धीरज चौधरी र ३१ वर्षीय सरोज चौधरी रहेका छन्।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार उनीहरूमाथि स्थानीय १९ वर्षीया महिलालाई करणी गरेको आरोपमा जाहेरी परेको थियो।
इटहरी-१० स्थित पिपल चोक बुढीखोला किनारामा गत वैशाख २७ गते राति ८ बजे ती महिलामाथि करणी भएको जाहेरीमा उल्लेख छ। छिमेकमा भएको विवाहमा सहभागी भई घर फर्किने क्रममा उनीहरूले विभिन्न किसिमको धाकधम्की देखाएर सामूहिक रूपमा जबरजस्ती करणी गरेका थिए।
घटनाबारे कसैलाई सुनाएमा पीडित र पीडितको घर परिवारसमेतलाई मारिदिने धाकधम्की दिई डरत्रास देखाउँदै आएको कारण सात महिनासम्म उजुरी गर्न नआएको भनी पीडितले बयान दिएकी छन्।
पीडित महिलाले आइतबार इलाका प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। जाहेरीकै आधारमा प्रहरीले चारै जनालाई पक्राउ गरी पाँच दिन म्याथ थपेर अनुसन्धान गरिरहेको छ।