अर्जेन्टिनाविरुद्ध फ्रान्सको उत्कृष्ट पुनरागमन, खेल २–२ को बराबरीमा
डेटूडे खबर डेस्क
०३ पौष २०७९
कतारमा जारी विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनाविरुद्ध फ्रान्सले उत्कृष्ट पुनरागमन गरेको छ । खेलको ८०औँ र ८१औँ मिनेटमा फ्रान्सले गोल गर्दै अर्जेन्टिनाविरुद्ध २–२ गोलको बराबरी बनाएको हो ।
खेलको ८१औँ मिनेटमा अर्जेन्टिनाका खेलाडीले डिबक्सभित्र फ्रान्सका खेलाडीलाई लडाएपछि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट केलियन एमबाप्पेले गोल गर्दै २–१ को स्थितिमा फ्रान्सलाई पुर्याए । त्यसको एक मिनेटपछि अर्थात खेलको ८१औँ मिनेटमा एमबाप्पेले दोस्रो गोल गर्दै फ्रान्सलाई २–२ गोलको बराबरी दिलाएका छन् ।
यसअघि अर्जेन्टिनाले पहिलो हाफसम्म २–० गोलको अग्रता बनाएको थियो । अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी र डि मारियाले गोल गरे । खेलको २३औँ मिनेटमा अर्जेन्टिनाले गोल गर्दै फ्रान्सविरुद्ध १–० गोलको अग्रता बनाएको थियो । कतारको लुजेल रंगशालामा खेलको २१औँ मिनेटमा डि मारियालाई फ्रान्सका डेम्बेलेले डिबक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए ।
खेलको ३६औँ मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको अग्रता दिलाएका थिए ।