हरिवन–७ मा पुनः मतगणना गर्न अदालतको आदेश

डेटूडे खबर डेस्क
२३ पौष २०७९
सर्लाहीको हरिवन वडानम्बर ७ को पुनः मतगणना हुने भएको छ। उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीका अनुसार न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले हरिवन–७ को वडाध्यक्षमा यसअघिको मतगणना रद्द गरी पुनः मतगणनाका लागि आदेश दिएको हो। स्थानीय निर्वाचन २०७९ अन्तर्गत निर्वाचन अधिकृतको कार्यालय हरिवनले गरेको मतगणनाअनुसार हरिवन–७ का वडाध्यक्षमा नेकपा एमालेका निरध्वज कार्की निर्वाचित भई कार्यरत छन्।
निर्वाचन अधिकृतको कार्यालयको गणनाअनुसार कार्की ३७९ मत सहित विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टीकाजंग थापाले ३७८ मत पाएका थिए। कांग्रेसका थापाले तत्कालै पुनः मतगणनाको अन्तरिम आदेश जारीको माग सहित रिट दायर गरेका थिए तर अदालतले अन्तरिम आदेश जारी नगरी पुनः मतगणनाको आदेश दिएको छ। रजिष्ट्रार अधिकारीले अब मतपत्र अदालतमै झिकाएर पुनः गणना गरिने बताए।