भारतले श्रीलंकालाई ९१ रनले पराजित गर्दै सिरिज कब्जा

न्यूज डेस्क
२४ पौष २०७९
एजेन्सी । सूर्यकुमार यादवको सानदार शतकमा भारतले तेस्रो तथा निर्णायक टि२० आई खेलमा श्रीलंकामाथि ९१ रनको सानदार जित निकाल्दै सिरिज जितेको छ । तीन टि२० आई खेलको सिरिज भारतले २-१ ले जितेको हो ।
जितको लागि २ सय २९ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका १६.४ ओभरमा १ सय ३७ रनमा अल आउट भयो । श्रीलंका ओपनर कुशल मेन्डिसले १५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २३ रन बनाए । कप्तान दासुन शानकाले १७ बलमा २ छक्कासहित २३ रन नै जोडे ।
अन्य श्रीलंका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । श्रीलंकालाई ओपनर पाथुम निसंका र कुशल मेन्डिसले पहिलो विकेटका लागि ४.५ ओभरमा ४४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । निसांका १७ बलमा ३ चौकासहित १५ रनमा आउट भए ।
धनन्जय डि सिल्भा १४ बलमा २ चौका र १ छक्कासहित २२ र चरिथ असलंका १९ रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।भारतका अर्शदीप सिंहले २.४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । हार्दिक पान्ड्याले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । उमरान मलिकले ३ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । युजभेन्द्र चहलले ३ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । अक्षर पटेलले एक विकेट लिए ।
त्यसअघि राजकोटमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २८ रन बनाएको थियो । भारतका सूर्यकुमार यादव ५१ बलमा ७ चौका र ९ छक्कासहित सर्वाधिक १ सय १२ रनमा अविजित रहे । सूर्यले ४५ बलमा आफ्नो टि२० आई करिअरको तेस्रो शतक पूरा गरे ।
सूर्य रोहित शर्मा २०१७ मा श्रीलंकाविरुद्ध ३५ बलमा शतकपछि सर्वाधिक छिटो बनाउने भारतीय ब्याटर समेत हुन् । भारतले ओपनर ईशान किशनलाई एक रनमै गुमाएको थियो । दोस्रो विकेटका लागि राहुल त्रिपाठी र शुभमन गिलले ४९ रनको साझेदारी गरे ।
करिअरको दोस्रो टि२० आई खेल खेलेका त्रिपाठीले १६ बलमा ५ चौका र २ छक्कासहित ३५ रनको सुन्दर इनिङ खेले । उनी चामिका करुणारत्नेको बलमा कट लगाउने धुनमा सर्ट थर्डम्यानमा दिलशान मदुशनकाबाट क्याच आउट भए ।
श्रीलंका दिलशान मदुशनकाले ४ ओभरमा ५५ रन खर्चेर २ विकेट लिए । वानिन्दु हसरंगाले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए । कसुन रजिथाले ४ ओभरमा १ मेडनसहित ३५ रन खर्चेर १ विकेट लिए ।
चामिका करुणारत्नेको नाममा एक विकेट रह्यो । भारत पहिलो खेलमा दुई विकेटले विजयी हुँदा दोस्रो खेलमा १६ रनले पराजित भएको थियो । अव तीन ओडिआई खेलको सिरिज हुनेछ । पहिलो खेल मंगलबार, दोस्रो बिहीबार र तेस्रो खेल आइतबार हुनेछ ।
तेस्रो विकेटका लागि गिल र सूर्यले १ सय ११ रनको सानदार शतकीय साझेदारी गरे । गिलले सुरुवाती १० बलमा पहिलो खाता खोलेका थिए । गिलले ३६ बलमा २ चौका र ३ छक्कासहित ४६ रन बनाए । अक्षर पटेल ९ बलमा ४ चौकासहित २१ रनमा अविजित रहे । हार्दिक पान्ड्या र दीपक हुडा ४-४ रनमा आउट भए ।